
छेवेटारमा तेस्रो वडा कप–२०८१ सुरु
छेवेटारमा गोनपा–१० स्तरीय तेस्रो वडा कप–२०८१ सुरु भएको छ । गोरखा नगरपालिका वडा नं १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट वडा कप सुरु भएको हो ।
सोमबारसम्म संचालन हुने प्रतियोगिताको पहिलो दिन तीन विधाका खेलहरु सम्पन्न भएका वडाअध्यक्ष प्रदिप कुँवरले बताए । ‘आज (शनिबार) पहिलो दिन खुल्ला तथा भेटेरान्स फुटबल प्रतियोगिता र महिला तर्फको डोरी तान्ने प्रतियोगिता सम्पन्न भएका छन्’, उनले भने । खुल्ला फुटबल प्रतियोगिता अन्तरगत २ खेल सम्पन्न भएको उनले जानकारी दिए ।
खुल्ला फुटबल प्रतियोगिता अन्तरगतको पहिलो खेल छेवेटार बजार टोल र तीनघरे टोलबीच भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि उक्त खेल पेनाल्टीमा पुगेकोमा ६–७ को गोल अन्तरले तीनघरे टोल विजयी बनेको छ । यस्तै, छेवेटार अमलापानी टोल र बिरिन्चोक बीच भएको दोस्रो खेलमा ३–० को गोल अन्तरले छेवेटार अमलापानी विजयी बनेको वडाले जनाएको छ ।
भेटेरान्स फुटबल प्रतियोगिता अन्तरगत भने एक खेल मात्र भएको वडाअध्यक्ष कुँवरले बताए । बिरिन्चोक र छेवेटार स्वामी चौर बीच भएको सो प्रतियोगितामा ४–० को गोल अन्तरले बिरिन्चोक टोल विजयी भएको उनले जानकारी दिए । शनिबार डोरी तान्ने प्रतियोगिता अन्तरगत महिलाको ३ खेलहरु सम्पन्न भएको बताइएको छ ।
साँझ फेदी टोल र बिरिन्चोक डाँडागाउँ टोलबीच भएको पहिलो खेलमा साँझा फेदी टोल बिजयी भएको छ । यसैगरी, छेवेटार बजार र प्रगतिशिल अमलापानि टोलबीच भएको दोस्रो खेलमा प्रगतिशिल अमलापानी टोल बिजयी भएको छ भने समिचौर नमुना टोल र तिनघरे टोलबीच भएको तेस्रो खेलमा समिचौर नमुना टोल बिजयी भएको बताइएको छ ।
गोरखा नगरपालिकाको १० नं वडा कार्यालयले ४ लाख २० हजार रकम बिनियोजन गरेर प्रतियोगिता संचालन गरेको हो । वडाकपलाई आफ्नो कार्यकाल भर निरन्तरता दिने वडाअ्रध्यक्ष प्रदिप कुँवरले बताएका छन् । प्रतियोगिता अन्तरगत महिला तथा पुरुषको डोरी तान्ने प्रतियोगिता, खुल्ला फुटबल प्रतियोगिता तथा भेटेरान्सतर्फको फुटबल प्रतियोगिता संचालन हुने उनको भनाई छ ।
‘फुटबल प्रतियोगिता अन्तरगत खुल्लातर्फ पहिलो र दोस्रो हुने क्रमश रु ४० हजार र २० हजार प्राप्त गर्ने छन्, यसैगरी भेटेरान्सतर्फ पहिलो हुनेले खसी र दोस्रो हुनेले बोका प्राप्त गर्नेछन्’, उनले भने, ‘डोरी तान्ने प्रतियोगिता अन्तरगत महिला र पुरुष दुवै टोलीको विजेता र उपविजेताले क्रमश रु २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।’
प्रतियोगितामा १० नं वडाको ७ टोल बिकास समितिहरुबीच प्रतिस्पर्धा हुने उनले बताएका छन् । वडाअध्यक्ष कुँवरको अध्यक्षता एवं गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच वडा कपको उद्घाटन भएको थियो ।




