
तिब्बतमा पक्राउ परेका दुई युवालाई खोजतलास गर्न प्रहरीमा निवेदन भन्छन् : न आफ्नो सरकारलाई भन्न सक्छौँ, न चीन सरकारलाई
तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको खोजी गरिदिन माग गर्दै आफन्तले प्रहरीमा निवेदन दिएका छन् । चुमनुब्री गाउँपालिका ७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केका परिबारजनले गत बिहिबार इलाका प्रहरी कार्यालय छेकम्पारमा निवेदन दिएका हुन् ।
‘… गत वैशाख १७ गते यार्सागुम्बा छिप्न भनी भाज्यूपामा भन्ने लेकमा गएको तर बेलुका नफर्केको र यत्रतत्र खोजतलास गर्दा फेला नपरिरहेका बेला गत जेठ ३ गते तिब्बतको सिगाचे प्रहरी कार्यालयबाट निवर्तमान वडाअध्यक्ष पासाङ लामालाई टेलिफोन गरी हराइरहेका दुई युवालाई स्याहाबाट सिगाचे प्रहरीले नियन्त्रणमा लिएको र हाल सिगाचे प्रहरीमा रहेको जानकारी दिएका रहेछन्’, कर्मा छेतेनकी पत्नी ढोकर लामाले पेश गरेको निवेदनमा भनिएको छ, ‘त्यसैले यथासीघ्र हराइरहेका व्यक्तिहरुको खोजी गरिदिनु हुन विनम्र निवेदन गर्दछु ।’
अहिले हराइरहेका दुई युवाको परिबारमा रुवाबासी छ । ती दुई युवालाई गत वैशाख १७ गते तिब्बती प्रहरीले बोलाएर तिब्बती बजार स्याहबाट पक्राउ गरेको स्थानीयबासीको भनाइ छ । जिउँदै छन् कि कुन अबस्थामा छन् भन्दै चिन्ता लागेको कर्मा छेतेनकी श्रीमती दोल्कर लामा चिन्ता ब्यक्त गर्छिन् । ‘यत्तिका दिन भइसक्यो, केही अत्तोपत्तो छैन । जिउँदै हुनुहुन्छ कि, कस्तो अबस्थामा हुनुहुन्छ ? कहाँ हुनुहुन्छ केही थाहा छैन’, उनले रुदै भनिन्, ‘किन पक्राउ गरेको हो नि थाहा छैन । के कस्तो कारबाही गर्छ पनि थाहा छैन । अन्यौलै अन्यौलमा हामी कतिदिन आँशुमा डुबेर बस्ने हो ?’ उनले सत्यतथ्य खोज गरिदिन सरकारसंग माग गरिन् ।
कर्मा छेतेन आफूसंगै किरा टिप्न लेक गएको उनको सम्झन्छिन् । ‘हामी संगसंगै किरा टिप्न गएका हौँ । दिनभरि केटाहरु एकातिर जान्थे, हामी केटीहरु अर्कातिर जान्थ्यौँ । भरे बेलुका टहरोमा भेट हुन्थ्यो, तर त्यस दिन उहाँ आउनु भएन’, उनले भनिन्, ‘किरा टिप्दा भीरबाट खसे कि, गाउँतिर झरे कि भनेर जतात्तै खोज्यौँ । आफन्तहरु सबैलाई खबर ग¥यौँ तर कतै खबर पाउन सकिएन । १२, १३ दिनपछि पो हल्ला सुनियो, तिब्बतमा प्रहरीले पक्राउ गरेको छ अरे भनेर । हल्लाको कुरा पत्याउने कि नपत्याउने ? बुझ्न जाउँ भने नाका बन्द छ । कसरी जाने ? सत्यकुरा कसरी थाहा पाउने ?’ चिन्तामा डुबेर दिन बितिरहेको उनको गुनासो छ ।
लामागाउँको कर्मा राप्केको घरको अबस्था पनि उस्तै दर्दनाक छ । पत्तै नपाई छोरा गायब भयो । पन्द्रदिनपछि मात्र छिमेकीलाई फोनबाट खबर आएको उनका बुबा निमा दोर्जेले भने । ‘हामीलाई त थाहै थिएन । पल्लो घरमा फोन आएछ । उहाँले भनेपछि पो तिब्बतमा बोलाएर पक्राउ गरेको रहेछ भनेर थाहा भयो’, उनले भने, ‘किन समातेको हो ? अब हामीले के गर्नुपर्छ केही थाहा पनि छैन । माथि(तिब्बत) जाम भने नाका बन्द छ । फोन गरौँ भने कसलाई गर्ने ? कोही चिनेको पनि छैन, जानेको पनि छैन । तल(काठमाडौ) कसरी जाने, कसलाई भन्ने केही थाहा छैन ।’ आफ्नो दुख वडाअध्यक्षबाहेक अरु कसैलाई नभनेको पीडित परिबारको भनाइ छ ।
दुर्गम ठामको मान्छे भएकाले केही थाहा नपाएको उनीहरु बताउँछन् । ‘के गरे के हुन्छ, आफ्नो मान्छे छुटाउन के गर्नुपर्छ केही अत्तोपत्तो छैन’, निमाले भने, ‘सरकारले हेर्दिए हुन्थ्यो । सरकारलाई कसरी भन्ने ?’ करिब डेढ महिनाअघि चिनियाँ प्रहरीले उनीहरु दुईजनालाई ङुइला नाकाबाट तिब्बती बजार स्यामा बोलाएर पक्राउ गरेका थिए ।




