| बुधबार, अशोज १३, २०८३

स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि गोरखा अस्पताललाई

गोरखा जिल्ला प्रथम अन्तरपालिका स्तरीय स्वास्थ्यकर्मीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । मे दिवसको अवसरमा आयोजित सो प्रतियोगिताको उपाधि गोरखा अस्पतालले जितेको छ । मजदुर दिवको अवसर पारेर आरुघाट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको प्रतियोगिताको उपाधि गोरखा अस्पतालले उचाल्न सफल भएको हो ।

आयोजक टिमलाई पराजित गर्दै गोरखा अस्पताल विजयी बनेको पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाले जानकारी दिए । विजयी टिमले नगद रु १५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र समेत प्राप्त गरेका छन् । यस्तै उपविजेता टिमले मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा पालुङटार नगरपालिका बाहेक १० पालिका र गोरखा अस्पतालको एक टिम गरी जम्मा ११ टिमको सहभागिता रहेको थियो । स्वास्थ्यतर्फको कर्मचारीहरुको खेल भएकाले स्वास्थ्य क्षेत्र अन्तरगत गोरखा अस्पताल एक मात्र सरकारी अस्पताल भएकाले सहभागिता जनाएको उनले बताए । स्वास्थ्यकर्मी बीच मित्रता बढाउन साथै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा एकता कायम गर्न प्रतियोगिता गरिएको उनले बताए ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रबिन थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका प्रमुख ऐनप्रसाद शर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमसेन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्