| बुधबार, अशोज १३, २०८३

आजबाट प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

गोरखामा आजबाट प्रथम अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । जिल्ला भलिबल संघ गोरखाले जिल्लामा पहिलो पटक अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको सम्पूर्ण तयारीहरु पूरा भएका छन् । प्रतियोगिता, ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराकासाथ हरमटारी खेलमैदानमा संचालन हुने संघले जनाएको छ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ उत्तरी गोरखाको चुमनुब्री बाहेक अन्य १० पालिकाबाट १० वटा टिमका सहभागिता रहने संघको भनाई छ । यसैगरी महिला तर्फको प्रतियोगितामा चुमनुब्री गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका बाहेक अन्य ८ पालिकाले सहभागिता जनाउने संघले बताएको छ ।

आज बिहान ७ बजेबाट प्रतियोगिता सुरु हुने छ । प्रतियोगिताको पहिलो दिन आज पुरुषतर्फ ६ खेल तथा महिलातर्फ ४ वटा खेलहरु हुँदैछन् । मंगलबार पहिलो खेल पुरुषतर्फ बिहान ६ बजे आरुघाट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिका बीच हुने भएको छ । दोस्रो खेल ८ बजे गण्डकी गाउँपालिका र भीमसेनथापा गाउँपालिका, तेस्रो खेल ९ बजे सिरानचोक र धार्चे गाउँपालिका बीच हुने संघका अध्यक्ष गुरुङले जानकारी दिए ।

यस्तै चौथो खेल १० बजे अजिरकोट गाउँपालिका र पालुङटार नगरपालिका, पाँचौ खेल ११ बजे आरुघाट गाउँपालिका र शहिद लखन र १२ बजे गण्डकी गाउँपालिका र गोरखा नगरपालिका बीच हुने भएको छ । यस्तै महिलातर्फ ६ बजे शहिद लखन गाउँपालिका र धार्चे गाउँपालिका, दोस्रो खेल ७ बजे भिमसेन थापा र अजिरकोट, तेस्रो खेल ८ बजे आरुघाट गाउँपालिका र पालुङटार पालुङटार नगरपालिका र ९ बजे बारपाक सुलिकोट गाउँपालिका र गोरखा नगरपालिका बीच हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे राष्ट्रिय खेलकुदका परीषद्का सदस्य सचिब टंकलाल घिसिङद्वारा हुने जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । बारपाक सुलिकोट र सिरानचोेक गाउँपालिकाको पुरुष टोलीले उद्घाटन खेल खेल्ने संघले जनाएको छ । प्रतियोगितामा सहभागी हुनको लागि १० हजार रुपैयाँ टीम दर्ता शुल्क राखिएकोे छ ।

प्रतियोगितामा पुरुष तथा महिला तर्फका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने स्थानीय तहले क्रमश रु ७० हजार, ४० हजार, रु २५ हजार र १५ हजार नगदकोसाथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट ब्लकरले २ हजार, उत्कृष्ट स्पाईकरले २ हजार प्राप्त गर्ने संघको भनाई छ । यसैगरी उत्कृष्ट डिफेन्डरले २ हजार, उत्कृष्ट सर्भर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्टसेटर र उत्कृष्ट खेलाडीले जनही रु २÷२ हजार प्राप्त गर्ने जिल्ला भलिबल संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्