
गोरखामा महोत्सव आयोजक र खेलकुद बीच द्वन्द्व कहिलेसम्म ?
जब मेला महोत्सवको मेलो सुरु हुन्छ, हरमटारीस्थित खेलमैदानको विषयमा बारोबर किचलो सुरु हुन्छ । बिवादको कारण हुन्छ : एकाथरी मेला महोत्सव गर्ने चाहाना राख्छन् अर्कोथरी त्यसलाई रोक्न उद्दत हुन्छन् ।
चेम्बर अफ कमर्सले गर्न लागेको मेलाका बेला स्थलबारे बिवाद भएको यो पहिलो अनुभव होइन । लामो समयदेखि यस्तै खाले बिवाद चलिहरहेको छ ।
कहिले हरमटारी क्लव, कहिले अखिल नेपाल फुटबल संघ (एन्फा), बिभिन्न खेल सम्बद्ध संघ संस्थाहरुले मैदानमा मेला हुन नहुने भन्दै बिरोध गरिरहन्छन् । ‘मेलाको बिरोध गरेको नभई खेलमैदानमा हुने खेलबाहेकका गतिविधिको बिरोध गरेको’ खेलकुद सम्बद्ध संस्थाहरुको तर्क हुने गर्छ ।
उक्त मैदान जिल्ला खेलकुद बिकास समितिको स्वामित्वमा छ । मैदान खेलकुद विकास समितिको स्वामित्वमा हुनुको अर्थ नै त्यहाँ खेलकुद गतिविधि गर्नका लागि हो । तर समितिले यसअघि पनि विवादका बीच मेला महोत्सव, राजनीतिक कार्यक्रम गर्न मैदान उपलब्ध गराइ रहेको छ । कहिले निर्शत त कहिले पैसा लिएर खेलकुद बिकास समितिले हरमटारीस्थित खेलमैदान भाडामा दिने गरेको कसैको सामु छिपेको छैन । कसैलाई सहजै दिने, कसैलाई बखेडा झिक्ने गर्दा पटक–पटक मैदानको बिषयमा मेला महोत्सव जोडिएर किचलो भइरहन्छ । अनि यस्ता सवाल उठिरहन्छ ।
बहस १.
जिल्ला खेलकुद विकास समितिले हरमटारीस्थित खेलमैदानको विषयमा स्पष्ट नीति बनाउन नसक्दा यो समस्या तारन्तार दोहोरिएको हो । खेलकुदले मेला महोत्सव गर्न दिएको मैदान २५ वर्षकालागि एन्फालाई खेलकुद गतिविधि गर्न सम्झौता गरेर दिएको छ । आफु अनुकुल सम्झौता गर्दै मैदान उपलब्ध गराएको छ ।
खेलमैदान संरक्षणको नाममा आएको लाखौँ बजेट पनि खेलकुद विकास समिति मातहत त्यहाँ आफूखुशी खर्च भएको छ । मैदानको रुपमा उक्त ठाउँलाई बनाउन चाहेको हो भने खेलकुद विकास समितिले अन्य गतिविधि कडाइका साथ रोक्न सक्नुपर्छ । होईन भने मैदान इच्छुकलाई उपलब्ध गराएर भाडामा लगाउने र पैसा कमाउने नीति लिनुपर्छ । खेल्नका लागि मैदानको अन्यत्र बिकल्प दिनुपर्छ । यदि मैदान नै चाहेको भने अन्य गतिविधि सबैका लागि सँधैका लागि बन्देज गर्ने क्षमता खेलकुदको नेतृत्व गर्नेले राख्नुपर्छ ।

बहस २.
यदि इच्छुकलाई मैदान उपलब्ध गराउने स्पष्ट नीति हो भने खेलकुद सम्बद्ध संस्थाहरुले मेला महोत्सव हुने बेला बखेडा झिक्दा जस्तो गरी विशुद्ध खेलकुद गतिविधि मात्र संचालन गरिरहेका छन् त ? यो अर्को प्रश्न हो ।
कोभिड संक्रमण कम हुँदै गएपछि बिभिन्न ठाउँमा खेलकुद गतिविधि भए । तर हरमटारी खेलमैदानमा त्यस्ता खालका खेलकुद गतिविधि भएको छैन । जब त्यहाँ मेला महोत्सव वा कुनै कार्यक्रमको तयारी हुन्छ तब मैदानमा खेलकुद गतिविधि बाहेक अन्य बन्देज गर्नुपर्छ भन्ने आवाज उठ्छ । आवाज उठाउनेहरुले यस बिचमा कति पटक खेलकुद गतिविधि गरे ? आमले निगरानी गरिरहेका छन् । यसका कारण के मेलाको बिरोध गर्नका लागि तत्तत् समयमा मात्रै खेलको नारा दिइएको हो कि भन्ने आभास मेला आयोजना गर्नेलाई भएको छ ।
खेलमैदान, खेलकुदकै लागि मात्र हुनुपर्छ भन्ने सबाल ठिक मान्न सकिन्छ । तर मेला महोत्सवका बेला बखेडा झिक्ने अनि खेलकुदका गतिविधि नहुने हो भने त्यसको के अर्थ ? खेलमैदानमा हुने गतिविधिले गोरखाली खेलाडी जन्माउन सक्नुपर्छ । त्यहाँ बिभिन्न खालका तालिम, प्रशिक्षण हुनुपर्छ । यदि मैदानमा निरन्तर खेलकुद गतिविधि भइरहेको भए मेला आयोजक संस्थाले पनि त्यहाँ मेला सञ्चालन गर्ने बारे कल्पनै गर्न सक्दैनथे ।
समितिले अरु बेला खेलकुदका कुनै गतिविधि नगर्ने, बिभिन्न संघ संस्थाले पनि कुनै क्रियाकलाप नगर्ने हो भने मैदान के का लागि ? मैदानमा पार्क बनाउने, मेला महोत्सव गर्ने, कहिले काहीँ खेलकुद पनि गर्ने गरी सबै प्रयोजनमा प्रयोग गर्नुपर्छ भन्ने सामाजिक सञ्जालका केही आवाजलाई कसरी गलत भन्न सकिन्छ ।
बहस ३.
मेला आयोजकहरु किन खेलमैदान नै ताक्छन् ? के अन्यत्र उपयुक्त स्थान छैन ? गोरखा बाहेकका थुप्रै जिल्लामा मेला महोत्सव हुन्छन् । सबैले खेलमैदानमा नै मेला गरेका हुँदैनन । मेला संचालन गर्ने हो भने आयोजक संस्थाहरु मिलेर नयाँ ठाउँको पहिचान गर्न सक्नुपर्छ । बारम्बार एउटै खालको बाधा ब्यबधान खेप्दा पनि आयोजकहरु किन चेत्दैनन् ?
संयुक्त रुपमा मेला आयोजना गर्ने स्थल निर्माण गर्ने बहुवर्षीय योजना बनाउन सकिन्छ । त्यसतर्फ ध्यान दिनुपर्छ । यदि होइन भने मेला गर्ने ठाउँ हरमटारी मैदानलाई बनाउने हो भने मैदानको बिकल्प खोजिनुपर्छ । स्ट्रिट फेस्टिबल, फुड फेस्टिबल जस्ता मेला महोत्सव पनि बिभिन्न ठाउँमा सडकमै चलेको देखिन्छ ।

गोरखाको ब्यापार ब्यवशाय प्रवद्र्धन गर्ने योजना राख्ने, यहाँका ब्यापारी ब्यवसायीलाई फाइदा पुग्ने योजना राख्ने र जहिले पनि पिङ लगायतका बालउद्यान चलाएर यहाँको पैसा बाहिर पठाउने, बाहिरबाट आएका ब्यापारीलाई स्टलमा प्राथमिकता दिएर गोरखाको पैसा पठाउने परिपाटी बन्द गर्नुपर्छ । गोरखामा सबै संघ संस्थाले गर्दै आएका मेला पिङ खेलाउन, रमाईलो गराउन र बाल उद्यान संचालकको बिजनेस चलाउनमा उद्धत देखिन्छ । अनि बालउद्यान सञ्चालकसंग मनग्गे आर्जन गर्न आयोजक उद्धत रहेको देखिन्छ ।
आजसम्म कुनै पनि मेला आयोजकले मेलाबाट गोरखालाई के फाईदा पुग्यो भन्ने निश्कर्ष निकालेका छैनन् । कृषि ब्यापार जे नाम दिएपनि मेलाले गोरखालाई भन्दा धेरै फाईदा बाहिरका ब्यवसायीलाई पुग्ने देखिन्छ । कृषि प्रवद्र्धन भनिएपनि सदरमुकाममा हुने मेलामा कृषिका स्टल रित्तै हुन्छन् । न किसानलाई फाईदा पुग्छ न त यहाँको कृषि क्षेत्रको प्रवद्र्धन नै हुन्छ ।
गोरखामा यस अघिपनि कयौँ मेला महोत्सव भए त्यसले गोरखाको ब्यवशायी, ब्यापारीका लागि, स्थानीयका लागि आजसम्म के कसरी लाभ पुग्यो ? लेखाजोखा खै ! त्यसले पिङ खेलाउने र बाहिरबाट आएर ब्यापारीले व्यापार गर्ने गर्दा मेला महोत्सवको गर्नुको फाईदा के ? यसको औचित्य माथि नै बहस आवश्यक छ ।




