
गोठालालाई प्रोत्साहन गर्ने कार्यक्रमको खाँचो
गोरखाको विशेषगरी चुमनुब्री र धार्चे गाउँपालिकामा भेँडागोठ, बाख्रा गोठ, याक, चौँरी गोठ छन् । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अनुसार गोरखा चुमनुब्रीका गोठहरुमा मात्र २५ हजार भेँडाबाख्राहरु छन् ।
१६ हजार पाँचसय भेँडा र आठहजार पाँचसय बाख्राहरु गोरखाका हिमाली भेगमा पालन गरिन्छ । त्यस्तै ६ हजार पाँचसय याकचौरी पालन गरिएको छ । धार्चेमा याकचौरी पाइँदैन, तर भेँडाबाख्रा भने छन् । हिमालको काखतिर गोठ बनाएर पालन गरिन्छ ।
बारपाक सुलिकोट र अजिरकोटका कतिपय गाउँका किसानहरु पनि लेकमा गोठ बनाएर पशुपालनमा आवद्ध छन् । अर्थात अर्को शव्दमा भन्नुपर्दा व्यवसायिक पशुपालन गरिरहेका छन् । गोठालाहरु घरगाउँतिर भन्दा पनि प्राय गोठतिरै बसोबास गर्छन् । उनीहरुको मुख्य पेशा भने पनि सहायक पेशा भने पनि त्यही एउटै हो । उनीहरु प्राय गाउँघरमा त झर्दैनन्, सदरमुकाम तथा काठमाडौं लगायतका सहरमा त परै ।
गोठका पशुचौपायासंगै साधारण जीवन, घुमन्ते जीवनयापन गरिरहेका उनीहरुलाई देश, विदेशमा चल्ने राजनीतिको कुनै पर्वाह छैन । देश जुन शासन व्यवस्था अनुसार चले पनि उनहरुमा कुनै पर्बाह हुदैन । पुर्खादेखि चल्दै आएको पुख्यौली पेशाप्रति उनीहरुको अगाध प्रेम हुन्छ । यसमा उनीहरु रमाइरहेका हुन्छन् । त्यसैले उनीहरुप्रति राज्यको नजर पुग्नु पर्छ ।
उनीहरु उत्पादनमुखी काम गरिरहेका छन् । उनीहरुको उत्पादनले उनीहरुमात्र होइन, स्थानीय उपभोक्ताले स्थानीय स्तरमै उपभोग्यबस्तु प्राप्त गरेका हुन्छन् । तसर्थ उनीहरुलाई राज्यले प्रोत्साहन गर्ने कार्यक्रमका प्याकेजहरु लागु गर्नुपर्छ ।
अहिले कतिपयले कागजात मिलाएकै आधारमा राज्यको सहुलियत, राज्यको अनुदान प्राप्त गरिरहेका छन् । तर बास्तविक पशुपालक किसान भने राज्यको नजरमा परिरहेका छैनन । ती पालिकाहरुले गोठमा बस्नेहरुको प्रत्यक्ष हितलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु लागु गर्नुपर्छ ।




