
गोरखा अस्पतालको विकासको नयाँ उपलब्धी : इएमआर
यो विज्ञान र प्रविधिको युग हो । विज्ञान र प्रविधिको चमत्कारपूर्ण विकासका कारण यो युग धेरै सहज, सुलभ, सुगम, सुविधासम्पन्न भएको छ । सूचना प्रविधिको विकास पनि अहिले उत्कर्षमा पुगेको छ । शिक्षा, स्वास्थ्य, सूचना, मनोरञ्जन, अनुसन्धान सबका सब क्षेत्रमा सूचना प्रविधिको विकासले सहजीकरण गरेको छ ।
गोरखा अस्पतालले पनि हालसालै विद्युतीय उपकरणबाट बिरामीहरुको मेडिकल अभिलेख राख्न सुरु गरेको छ । अस्पतालले गत असोज महिनादेखि ईएमआर उपकरण जडान गरी बिरामीहरुको मेडिकल अभिलेखलाई व्यवस्थित ढंगले भण्डारण गर्न सुरु गरेको हो ।
इएमआर उपकरण जडान गरेपछि बिरामीको प्रयोगशाला परीक्षण रिपोर्ट तथा एक्सरे, भिडियो एक्सरे रिपोर्ट सबै विद्युतीय उपकरणमा सुरक्षित रहने गरेको छ । इएमआर सेवा सञ्चालन भएपछि ल्याब टेस्टको रिपोर्ट लिन बिरामीले लाइन बसिरहनु नपर्ने भएको छ ।
साथै विभिन्न मेडिकल चेकअपको हिस्ट्रीका कागजपत्रको फाइल बोकेर कोठा–कोठा चाहारिरहनु नपर्ने भएको छ । ल्याब तथा एक्सरे, भिडियो एक्सरे, इसिजी, इकोका रिपोर्टहरु सबै इएमआर प्रविधिमै अपलोड गरिएको हुन्छ । बिरामी नंबर अंकित टोकन साथमा राखे पुग्ने सुविधा छ । इएमआर सेवाका कारण भावी दिनमा मेडिकल हिस्ट्री हेर्न पनि सजिलो हुनेछ ।
इएमआर सेवाका कारण कुनै बिरामीले पुरानो चेकजाँचको कागजात हराए पनि उसको रेकर्ड प्रविधिमै सुरक्षित रहने छ । विश्वमा यो सेवामा धेरै पहिलेदेखि अभ्यास भइसकेको थियो । नेपालमा यो सेवा सुरु गर्नेमा गोरखा अस्पताल पन्द्रौँ अस्पताल हौँ । त्यस्तै गण्डकी प्रदेशमा तेस्रो स्थानमा गोरखा अस्पताल पर्दछ ।
इएमआर सेवाका कारण स्वास्थ्य सेवा चुस्त हुने विश्वास छ । गोरखा अस्पतालको नयाँ व्यवस्थापनले दिनानुदिन नयाँनयाँ प्रगतिको फड्को मारिरहेको छ । यसरी नै थप प्रगतिको नयाँ उपलव्धी हात पार्दै जाने विश्वास राख्न सकिन्छ ।




