| मङ्लबार, जेष्ठ १८, २०८३

बालमैत्री नगर बन्न विभिन्न चरण पूरा गर्दै पालुङ्टार

२०८३ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीका साथ पालुङटार नगरपालिकाले विभिन्न चरणका कार्यक्रमहरु अघि बढाएको छ । सबै वडाहरुमा बालसञ्जाल, बालक्लव गठन गरिसकेको नगरपालिकाले अहिले सबै वडाहरुमा सरोकारवालाहरुको अभिमुखीकरण सम्पन्न गरेको छ । आइतबार वडा नं. ५ को सरोकारवालाहरुको अभिमुखीकरण सम्पन्न गरेसंगै सबै वडाहरुमा सो अभियान सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए ।

सो अभिमुखीकरणमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधि, वडाभित्रका विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षहरु, बालक्लव तथा बालसञ्जालका अध्यक्षहरु, सहकारी संस्था, महिला समूह, युवाक्लव, मेलमिलाकर्तालगायतका प्रतिनिधिहरु सहभागी हुन्छन् ।

अभिमुखीकरणमा बाल बचाउ, बाल संरक्षण, बाल सहभागिता लगायतका सूचकहरुलाई कार्यान्वयन गर्ने बारेमा सहजिकरण गरिएको थियो । त्यस्तै बालमैत्री घर तथा विद्यालयका भौतिक संरचना र बालअधिकारको सुनिश्चित गर्नका अपनाउने कुराहरुका बारेमा सहजिकरण गरिएको थियो । साथै १८ वर्ष नपुगेका बालबालिकाहरुलाई राज्य, परिवारको र बालबालिकाहरुको कर्तव्यका बारेमा बुझाइएको थियो ।

बेलाबेलात्यस्तै, सामाजिक कुरीतिहरु, छुवाछुत, दाइजो प्रथा, लैङ्गिक हिंसाका बारेमा बालबालिकाहरुलाई सुसुचित गराई त्यसले समाजमा पर्ने असरका बारेमा उनीहरुलाई जानकारी गराउने उनको भनाइ छ ।

यस प्रकारका कार्यक्रमहरु बालबालिका मार्फत गराउदा उनीहरुको नेतृत्व विकास हुने र भोलिको राष्ट्रको सक्षम नागरिक बन्ने उनले बताए । स्थानीय बालमैत्री शासन प्रबद्र्धन गर्ने उद्देश्यले वडा स्तरीय बाल संरक्षण समिति गठन भइसकेको छ । बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ मा उल्लेखित ५१ वटा सूचक रहेको र सो सुचकलाई कार्यान्वयनका लागि विभिन्न चरणको नीति निर्माण कार्य सम्पन्न भइसकेको पालिकाले जनाएको छ ।

पालुङटार नगरपालिकालाई २०८३ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको उनले बताए । उनका अनुसार पालुङटार नगरपालिका भित्र सामुदायिकतर्फ १४ वटा मावि, ४ वटा निमावि र २४ वटा प्रावि रहेका छन् । त्यस्तै, संस्थागत रुपमा ३ वटा मावि, २ वटा निमावि र ५ वटा प्रावि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्