| आइतवार, जेष्ठ २, २०८३

सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न अजिरकोट र सिरानचोक गाउँपालिकाको निर्देशन

जिल्लाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै पालिकाले ३५ दिनभित्र सरकारी तथा सार्वजनिक जग्गामा अनुमति बिना निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो ।

गाउँपालिकाको यही वैशाख ३१ गते बसेको कार्यपालिका बैठकले पालिकाभित्रको सरकारी तथा सार्वजनिक जग्गाभित्र अनुमति बिना बनेका संरचनाहरु हटाउने निर्णय गरेको थियो । ‘गाउँपालिका अन्तरगतका सरकारी तथा सार्वजनिक जग्गामा कोही, कसैले घर, टहरा निर्माण गर्ने र जग्गाको अतिक्रमण गरी अवैध भोगचलन गर्ने गरेको भए उक्त घर, टहरा तथा अवैध रुपमा निर्माण गरिएका संरचनाहरु हटाउन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, पालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै, जिल्लाको सिरानचोक गाउँपालिकाले पनि सूचना जारी गर्दै पालिकाभित्रका सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा जोखिमपूर्ण स्थानमा बसोबास नगर्न पालिकाबासीलाई आग्रह गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बैशाख १७ गते सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धमा सबै स्थानीय तहहरुलाई परिपत्र समेत गरेको थियो । सिरानचोक तथा अजिरकोट गाउँपालिकाले पनि सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा जोखिम पूर्ण स्थानमा बसोबास नगर्न पालिकाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्