| बुधबार, असार ९, २०८३

गोरखामा सिजी ग्रुपले होटल समिट सञ्चालन गर्ने

नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुप(सिजी)ले होटल समिट सञ्चालन गर्ने भएको छ । ऐतिहासिक स्थल गोरखालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखी चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले लक्जरी हेरिटेज ‘समिट होटल’ निर्माण गर्ने भएको हो ।

सिजीले बिहीबार एक कार्यक्रम गरी होटलको शिलान्यास गरेको छ । गोरखामा सञ्चालन हुने यस रिसोर्टलाई आधुनिक सुविधा र नेपाली मौलिकता समेटिएको स्तरीय लक्जरी रिसोर्टका रूपमा विकास गरिने सीजी हस्पिटालिटीले जनाएको छ ।
काठमाडौंमा सन् १९७८ मा स्थापित ऐतिहासिक समिट होटलको प्रतिष्ठालाई विस्तार गर्दै सिजी हस्पिटालिटीले गोरखामा आधुनिक सुविधाहरूका साथै नेपाली मौलिकता प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

करिब ३० रोपनी क्षेत्रफलमा फैलिने यो परियोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । करिब ३० वटा लक्जरी कोठाहरू रहने यस होटलको रुम रेट करिब ५०० अमेरिकी डलर रहने छ । समिट होटलले नेपालभित्रका तथा विदेशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

सीजी हस्पिटालिटीका अनुसार यस परियोजनाको मुख्य उद्देश्य गोरखालाई नेपालका प्रमुख लक्जरी पर्यटन गन्तव्यहरूको सर्किटमा जोड्नु हो । ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण गोरखा दरबार नजिकै निर्माण हुने यो परियोजनाले नेपालको इतिहास, मौलिकता र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । गोरखा त्यही स्थल हो जहाँबाट पृथ्वी नारायण शाहले नेपाल राज्यको एकीकरण गर्दै आधुनिक नेपालको निर्माण गरेका थिए ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं कार्यकारी अधिकृत राहुल चौधरीका अनुसार यो परियोजना नेपालको पर्यटन क्षेत्रमा चौधरी ग्रुपको निरन्तर विश्वास र प्रतिबद्धताको अर्को एउटा महत्त्वपूर्ण कदम हो । ‘गोरखा नेपालको इतिहास बोकेको निकै महत्वपूर्ण क्षेत्र हो । नेपालको इतिहास, संस्कृति र मौलिकता तथा समिट होटलको विरासतलाई नेपालभर र विश्वसामु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । पर्यटनमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउने सरकारको लक्ष्यमा चौधरी ग्रुप सधैँ सहयोगी भूमिकामा रहनेछ,’ उनले भने ।

समिट होटलले गोरखा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण तथा नयाँ लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ । यसले पर्यटनमार्फत क्षेत्रीय विकासलाई गति दिने विश्वास समेत गरिएको छ । केही दिनअघि मात्रै चौधरी ग्रुपले विश्वप्रसिद्ध होटल म्यारियट इन्टरनेसनलसँगको साझेदारीमा प्रतिष्ठित लक्जरी ब्रान्ड ‘द रिट्ज–कार्लटन’ होटलको शिलान्यास काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा गरेको थियो ।

सीजी हस्पिटालिटी ग्लोबलले हाल प्रमुख अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूसँग साझेदारी गर्दै आफ्नो विश्वव्यापी उपस्थितिलाई विस्तार गरिरहेको छ । हाल यसको पोर्टफोलियोमा १२ देशका १३) गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन्, जसमा १५ हजारभन्दा बढी रुम क्यापासिटी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्