
चुमनुव्रीको केन्द्र फिलिममा पहिलो पटक मोटर पुग्यो
चुमनुव्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा पहिलो पटक मोटर पुगेको छ । वुधवार पर्यटक बोकेको बोलेर जीप नाग्चेतबाट बुढीगण्डकी नदी पार गर्दै सो क्षेत्र पुगेको हो ।
आरुघाट लार्के सडक अन्तरगत नाग्चेतहुदैं पाङसिङसम्म मोटर चल्छ । तर मोटरेवल पुल अभावमा नाग्चेत पारी रहेको फिलिममा भने गाडी पुग्न सकेको थिएन । स्थानीय व्यवसायीहरुले बुढीगण्डकीमाथि अस्थायी पुल निर्माण गरे । नदी किनारबाट फिलिमसम्मको गोरेटो बाटो चौडा पारे । अनि मोटर पुगेको हो । चार पाङ्ग्रे सवारी सहजै आउजाउ हुने गरी अस्थायी पुल निर्माण भएको स्थानीय एवं पालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङले बताइन् ।
‘पहिले नाग्चेतमा झरेर झोलुङ्गे पुल हुदैं पैदल आउनुपथ्र्याे,’ उनले भनिन्, ‘अहिले मोटर आउने गरी अस्थायी पुल बनेको छ ।’ ह्यूम पाइप र फलाम हालेर बुढीगण्डकी नदीमाथि अस्थायी पुल बनाइएको उनले जानकारी दिइन् । मोटर पुगेसँगै सुपथ मूल्यमा सामान ढुवानी गर्न पाइने र बिरामीलाई एम्वुलेन्समार्फत स्वास्थ्य संस्थामा लान सहज हुने उनले जिकिर गरिन् । अस्थायी पुल भएकाले समस्या समाधानको दिर्घकालिन उपाय भने नभएको उनको भनाइ छ । ‘यो पुल खोलामा बाढी नआएसम्मका लागि होला, बाढी आयो भने बगाएर लान्छ । पक्की पुल नै आवश्यक छ,’ उनले भनिन् ।
सो ठाउँमा पक्की पुल निर्माणका लागि सर्भे गर्न गत भदौ महिनामा संघको टोलि आएको थियो । तर नाग्चेतपारी बुढीगण्डकी किनारदेखि फिलिमसम्म सडक सञ्जाल नजोडिएकाले काम अघि बढ्न सकेको छैन । सडक ट्रयाक खोल्नका लागि पालिकाले बजेट विनियोजन गर्दै आईई स्वीकृत गरेर राष्ट्रिय निकुञ्ज बिभागमा पठाइसकेको छ । निकुञ्जबाट वन मन्त्रालयमा फाइल अघि बढेपनि कुनै निर्णय आएको छैन । सोही कारण काम अघि बढाउन नसकिएको पालिका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
‘नदी किनारदेखि फिलिमसम्मको ४.५ किलोमिटर सडक ट्रयाक खोल्नका लागि आईई गरेर गत कात्तिक २० गते निकुञ्ज बिभागमा पठाइसकेका छौ,’ उनले भने, ‘स्वीकृतिका लागि वन मन्त्रालयमा फाइल फरवाड भएको छ रे भन्ने सुनेका छौ, तर केही रेस्पोन्स आएको छैन ।’ सडक ट्रयाक नभएकै कारण बुढीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माणको काम अघि बढ्न नसकेको उनले जिकिर गरे । पालिकाले सडक ट्रयाक खोल्नका लागि एक करोड २५ लाख रकम विनियोजन समेत गरेको छ ।




