
गोरखामा क्षयरोगी र मृत्यू हुनेको संख्या बर्सेनि घट्दै
यसबर्ष १३४ जना बिरामी, तीनजनाको मृत्यू
विश्व क्षयरोग दिवस मंगलबार, ‘हो हामी क्षयरोग अन्त्यगर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मुल नाराका साथ मनाइएको छ । हाल गोरखामा कुल १३४ जना क्षयरोगका बिरामी छन् । क्षयरोगका कारण यसवर्ष जिल्लामा तीनजनाले ज्यान गुमाएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्ममा जिल्लाका १३४ जनामा क्षयरोग पहिचान भएको हो । जसमध्ये महिला ५२ र पुरुष ८२ जना रहेका छन् । यस्तै, बालबालिकाको सङख्या भने तीन रहेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका २७४ जनामा क्षयरोग पुष्टि भएको थियो । जसमध्ये महिला १०७, पुरुष १६७ र बालबालिका छ जना रहेका थिए । गत वर्ष क्षयरोगका कारण आठ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा भने जिल्लाभर २३२ जना क्षयरोगका बिरामीहरुको पहिचान भएका थियो । उनीहरुमध्ये महिला ७७ जना र पुरुष १५५ जना रहेको जनस्वास्थ्य कार्यालयका नारायण अर्याल बताउँछन् । बालबालिमा भने ९ जना रहेको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा क्षयरोगका कारण जिल्लामा सात जनाको मृत्यु भएको थियो ।
समयमै रोग पत्ता नलाग्दा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा जिल्लाका तीन जनाले ज्यान गुमाएको कार्यालयका जनस्वास्थ्य निरीक्षक नारायण अर्यालले बताए । जिल्लाका ११ स्थानीय तहका ९४ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीको प्रतयक्ष निगरानीमा क्षयरोग बिरामीहरुले औषधी सेवन गर्दै आएका छन् । सबै स्वास्थ्य संस्थाहरुमा औषधी उपलब्ध हुने भएपनि रोग उपचारको सुविधा नरहेको जनस्वास्थ्य निरीक्षक अर्यालले बताए ।
उनले भने, ‘रोगको उपचार भने सिमित आधारभुत अस्पलातहरुमा मात्र हुन्छ । त्यसैले पनि बिरामी पत्ता लगाउन समस्या भैरहेको छ । हामीले जिल्लामा ५० प्रतिशत बिरामी मात्र पत्ता लगाउन सकेका छौँ ।’ बिरामीहरु सम्पर्कमा नआउँदा उपचारमा समस्या भएको जनस्वास्थ्य निरीक्षक नारायण अर्यालको भनाई छ ।




