| मङ्लबार, अशोज १२, २०८३

धमाधम बन्द हुँदै गोरखाका विद्यालय

स्थानीय तहको संरचना बन्नुअघि अजीरकोट गाउँपालिकामा ३७ वटा विद्यालय थिए । सात बर्षको यो अवधिमा १३ वटा बन्द भए । अहिले २४ वटा मात्र विद्यालय सञ्चालनमा रहेको त्यहाँको शिक्षा शाखाले जनाएको छ । ‘बसाइँ सराइले गर्दा यहाँ विद्यालय धमाधम खालि हुन थाले’, गाउँपालिकाका शिक्षा शाखा प्रमुख सीताराम पन्त भन्छन्, ‘यहाँको मात्र होइन, सबै ठाउँको अबस्था यस्तै होला ।’

बारपाक सुलीकोट गाउँपालिकामा पनि सात बर्षको अवधिमा १० विद्यालय बन्द भएका छन् । ‘हामी आउनुअघि ४६ वटा विद्यालय थिए । अहिले ३६ वटा मात्र सञ्चालित छन्’, शिक्षा शाखाका भीमकुमार श्रेष्ठ भन्छन्, ‘नजिकको लिडर विद्यालयले व्यवस्थापन हेर्ने गरी विद्यार्थी संख्या अति कम भएका केही विद्यालयबाट यो बर्ष पनि शिक्षक अन्यत्र खटाइँदैछ ।’

यी दुई पालिकामा मात्र होइन, अहिले गोरखाका सबै पालिकामा विद्यालयहरु धमाधम बन्द भइरहेका छन् । विद्यार्थी सून्य भएपछि ११ वटै पालिकामा विद्यालयहरु बन्द हुन थालेको हो । कैयौँ विद्यालयलाई इसिडी तहमा घटुवा गरिएको छ । एक, दुई जना बालबच्चा राखेर इसिडी कक्षा सञ्चालन गरे पनि त्यस्ता विद्यालयलाई औपचारिक रुपमा बन्द भन्न नमिल्ने शिक्षा शाखाका कर्मचारीहरु बचाउ गर्ने गर्छन् ।

धार्चे गाउँपालिका ७ ठाँटीको एक प्राविमा जम्मा एकजना विद्यार्थी छन् । एकजना मात्र भए पनि उनको पढ्ने अधिकार सुरक्षित गर्नुपर्ने भन्दै पालिकाले त्यहाँ विद्यालय सञ्चालन गरिरहेको जनाएको छ । लेकाली भेगको बस्ती भएकाले नजिक अर्को विद्यालय नहुँदा एक, दुई जनामात्र विद्यार्थी भएपनि बन्द गर्न भने नमिल्ने शिक्षा शाखाका कर्मचारी टेक गुरुङ बताउँछन् ।

‘ठाँटीको एउटा विद्यालयमा एकजना मात्र विद्यार्थी छन् । त्यो गाउँबाट वरिपरिको अर्को जुन गाउँ जान पनि दुई, तीन घण्टा लाग्छ’, उनी भन्छन्, ‘एकजना मात्र भएपनि पढ्ने अधिकार त खोस्न भएन भनेर विद्यालय सञ्चालन गरेका छौँ ।’ यस्तो अबस्था अरु गाउँमा पनि रहेको उनको भनाइ छ । ‘गतबर्षभन्दा यसबर्ष चारसय जना विद्यार्थी घटेका छन्’, उनले भने ।

२०७४ सालसम्म ५३ वटा विद्यालय रहेको सिरानचोक गाउँपालिकामा अहिले ४६ वटा मात्र रहेको शिक्षा शाखाका कृष्ण पोखरेलले जानकारी दिए । ‘सातबर्षमा सातवटा विद्यालय बन्द भइसक्यो । केही दिनभित्र अरु विद्यालय पनि मर्जर गर्ने गृहकार्य भइरहेको छ’, पोखरेलले भने, ‘स्कूल खारेज नभए पनि धेरैलाई इसिडीमा सीमित गर्ने तयारी छ ।’

पालुङटार नगरपालिकामा २०७६ सालसम्म ४४ वटा सामुदायिक विद्यालय थिए । पाँचबर्षको यो अवधिमा ३८ वटा मात्र बाँकी रहेका छन् । सञ्चालनमा रहेकामध्य कैयौँ विद्यालय इसिडी र कक्षा एक मात्र सीमित छन् । ‘हाम्रो पालिकाको बिगत तीनबर्षको विद्यार्थीसंख्याको अभिलेख हेर्दा बर्षेनी अन्दाजी पाँचसय जनाका दरले घट्दैछ’, शिक्षा शाखाका माधव पोखरेल भन्छन्, ‘बसाइँसराइ अत्याधिक छ । विद्यालय कसरी चल्छन् ?’

विद्यार्थी संख्या अतिन्यून भएपछि गोरखा नगरपालिकाले केही दिनअघि १६ वटा विद्यालयको तह घटुवा गरेको छ । सोमध्य केही विद्यालयलाई कक्षा १ मा र अधिकांशलाई इसिडीमा सीमित गरिएको छ । स्थानीय तह सुरु हुनुअघि ४९ वटा सामुदायिक विद्यालय रहेको यहाँ अहिले ४६ वटा मात्र रहेका नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

विद्यार्थी संख्या अति न्यून भएपछि आरुघाट गाउँपालिका पनि तह घटुवाको क्रममा छ । गत शैक्षिक सत्रमा छ वटा विद्यालयको तह घटुवा गरेको शिक्षा शाखाले जनाएको छ । विद्यार्थी संख्या सून्य भएपछि गण्डकी गाउँपालिकाले पनि यो बर्ष दुई वटा विद्यालय बन्द गराएको छ । चारवटालाई तह घटुवा गरेर इसिडी मात्र सञ्चालन गरेको शिक्षा शाखा प्रमुख सुदीप पन्थले जानकारी दिए ।

त्यस्तै सहिद लखन गाउँपालिकाले पनि दुईवटा विद्यालय बन्द गराएको छ । विद्यार्थी संख्या अतिन्यून भएका विद्यालयहरुका हकमा के गर्ने भन्ने बारे आउँदो असारसम्म अर्को निर्णय गर्ने शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्