
गोरखा नगरका पाँच माविमा प्रअ हेरफेर, १४ विद्यालयको कक्षा घटुवा
स्थायी दरबन्दीबिना माध्यमिक तह सञ्चालन भइरहेका पालिकाभित्रका विद्यालयहरुमा गोरखा नगरपालिकाले सो तहका स्थायी शिक्षकहरु काम काजका लागि खटाउने निर्णय गरेको छ । केही दिनअघि बसेको नगर शिक्षा समितिको बैठकले सो विद्यालयमा प्रधानाध्यापकको कार्यभारसमेत सम्हाल्ने गरी ती शिक्षकहरुलाई कामकाजमा खटाउने निर्णय गरेको हो ।
बिगत लामो समयदेखि ती विद्यालयहरु प्रावि तथा निमावि तहका शिक्षकका भरमा माध्यमिक तहसम्म सञ्चालन भइरहेका थिए ।
नगरपालिकाबाट प्राप्त जानकारी अनुसार तारा मावि छेपेटारमा प्रधानाध्यापकका रुपमा कार्यरत बाबुराम विकलाई मनकामना बहिरा माविमा काजमा खटाउने निर्णय भएको छ । महेन्द्र माविमा कार्यरत मावि तृतीय श्रेणीका शिक्षक मीनबहादुर नेपालीलाई तारा माविमा काजमा खटाउने निर्णय भएको छ ।
त्यस्तै विन्ध्यावासिनी मावि नारेश्वरमा कार्यरत मावि तृतीय श्रेणीकी शिक्षक सजिना ढकाललाई रत्नलक्ष्मी माविमा, विन्ध्यावासिनी मावि नारेश्वरकै अर्का मावि तृतीय श्रेणीका शिक्षक माधव तिवारीलाई राष्ट्रिय मावि घलाङमा काम काजमा खटाउने निर्णय भएको छ । महेन्द्रज्योति माविका मावि तृतीय श्रेणीका शिक्षक अनन्त न्यौपानेलाई बालमन्दिर मावि छहरेमा , महेन्द्रज्योति माविकै मावि तृतीय श्रेणीका अर्का शिक्षक टीका लामिछानेलाई जनज्योति मावि बन्दीचौरमा खटाउने निर्णय भएको नगरपालिका कार्यालयले जनाएको छ ।
काम काजमा खटाइएका सबै शिक्षकहरुलाई ती विद्यालयहरुमा प्रधानाध्यापकका रुपमा नियुक्त गरी आउँदो जेठ १५ गतेभित्र नगरपालिकामा जानकारी पठाउन निर्देशन दिने पनि शिक्षा समितिले निर्णय गरेको छ । त्यस्तै कम विद्यार्थी संख्या भएका १४ वटा विद्यालयका शिक्षकहरुको दरबन्दी नगरपालिकामा पुलमा राखी विद्यार्थी संख्या धेरै भएका उपयुक्त अरु विद्यालयमा काम काजमा खटाउने निर्णय पनि नगर शिक्षा समितिले गरेको छ ।
कम विद्यार्थी भएका गोरखा नगरपालिका १४ को कन्यादेवी, अकला र सलाङगिरी आधारभूत विद्यालय, वडा नं. १३ को चन्द्रज्योति र फूलबारी आधारभूत विद्यालय, वडा नं. ११ को चन्द्रज्योति र वडा नं. १० को नवज्योति आधारभूत विद्यालयका शिक्षकहरुलाई धेरै विद्यार्थी भएका उपयुक्त विद्यालयमा खटाइएको छ ।
त्यस्तै वडा नं. ९ को गोरखकाली आधारभूत विद्यालय, वडा नं. ६ को पृथ्वीनारायण बालविकास र कृष्ण आधारभूत विद्यालयका शिक्षकहरुलाई पनि उपयुक्त अरु विद्यालयमा काम काजमा खटाउने निर्णय भएको नगरपालिकाले जनाएको छ । वडा नं. ५ को गोरखकाली आधारभूत विद्यालय, वडा नं. ४ को पन्थेश्वरी र बज्रभैरव आधारभूत विद्यालयका शिक्षकहरुलाई पनि नजिकका उपयुक्त विद्यालयमा खटाउने निर्णय भएको छ ।
त्यस्तै वडा नं. ३ को दुम्श्री र सूर्यज्योति आधारभूत विद्यालय, वडा नं. २ को दयाज्योति आधारभूत विद्यालय र वडा नं. १ को जनशक्ति आधारभूत विद्यालयका शिक्षकहरुलाई विद्यार्थी धेरै भएका उपयुक्त विद्यालयहरुमा काम काजमा खटाउने निर्णय भएको नगरपालिकाले जनाएको छ । शिक्षक झिकिएका सबै विद्यालयहरुमा कम्तीमा एकजना इसिडी शिक्षक र एकजना प्रावि तहका स्थाथी दरबन्दीका शिक्षकलाई भने सोही विद्यालयमा खटाउने निर्णय भएको छ ।
नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरुमा वरिष्ठतम शिक्षकलाई प्रधानाध्यापकमा नियुक्त गरी जेठ १५ गतेभित्र नगरपालिका कार्यालयमा जानकारी गराउन पत्राचार गर्ने निर्णय पनि भएको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगले जानकारी दिए ।




