| मङ्लबार, अशोज १२, २०८३

शिक्षक महासंघ गोरखाको अध्यक्षमा काप्री निर्विरोध

शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक महासंघ गोरखाको अध्यक्षमा महालक्ष्मी मावि लक्ष्मीबजारका प्रधानाध्यापक चुडामणि काप्री निर्विरोध निर्वाचित भएका छन् ।


महासंघको शनिबार सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट काप्री सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । जिल्ला सम्मेलनले ७ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरु पनि चयन गरेको छ । शिक्षक महासंघ गोरखाका नवर्निवाचित अध्यक्ष चुडामणी काप्री, महेन्द्र मावि कुन्दुरका प्रअ गोपालबाबु मरहट्टा, बिन्द्रावती मावि मसेलका प्रअ उत्तरनारायण श्रेष्ठ, बालमन्दिर माविका प्रअ शिवबहादुर थापा, दुल्लभ माविका प्रअ मोहनबाबु सापकोटा, रत्नलक्ष्मी मावि डुम्रीडाँडाकी प्रअ साधना त्रिपाठी र बिन्दवासिनी माविकी देवकी भट्टराई राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।


छनोट भएका राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुले शिक्षक महासंघको राष्ट्रिय सम्मेलनमा भाग लिने अध्यक्ष काप्रीले जानकारी दिए ।

शिक्षक महासंघ गोरखाको अन्य पदाधिकारीहरु भने छनोट हुन बाँकी रहेको अध्यक्ष काप्रीको भनाई छ । ‘अहिले अध्यक्ष मात्र चयन भएको छ, अन्य पदाधिकारीहरु पनि छिटै चयन गर्ने तयार भईरहेको छ’, उनले भने । महासंघको नयाँ कार्यसमितिमा २६ जनाको कमिटी तयार हुने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्