
दश स्थानीय तहले सार्वजनिक गरे आठ कक्षा परीक्षाको नतिजा
जिल्लाको यस बर्षको आठ कक्षाको परीक्षाको नजिता सार्वजनिक भएको छ । शहिदलखन गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहले आइतवार नजिता सार्वजनिक गरेका हुन् । गोरखा नगरपालिकामा ५६.२३ प्रतिशत परीक्षार्थी उत्र्तीण भएका छन् । गोरखा नगरपालिकाको एकहजार ४२ जना परीक्षार्थीमध्ये पाँचसय ८६ जना उत्र्तीण भएको शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।
परीक्षामा नगरपालिका भित्रका २० वटा सामुदायिक र ८ वटा निजि विद्यालय गरी जम्मा २८ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो । सामुदायिक बिद्यालयतर्फको नजितामा महालक्ष्मी मावि लक्ष्मीबजार र निजीतर्फ सन्त जोसेफ स्कुल उत्कृष्ट बनेको खड्काले जानकारी दिए ।
पालुङटार नगरपालिकामा ४८.५७ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् । कुल ७ सय ४ जनाले परीक्षा दिएका थिए । जसमध्ये ३४२ जना उत्तीर्ण भएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । उनका अनुसार सामुदायिक बिद्यालयतर्फ जनता मावि आँपपिपल र निजीतर्फ ठाटीपोखरी बालज्योतीले उत्कृष्ट नतिजा प्राप्त गरेको उनले जानकारी दिए ।
सिरानचोक गाउँपालिकामा २२.५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २ सय ६६ परीक्षार्थीमध्ये २ सय ६ जना उत्तीर्ण भएको र बाँकीले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने पालिकाको शिक्षा शाखाका कृष्णप्रसाद पोखरेलले बताए । अजिरकोटमा २७.६ प्रतिशत परीक्षार्थी उत्र्तिण भएका छन् । परीक्षामा सहभागीमध्ये ५९ जना उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख सिताराम पन्तले बताए । उनका अनुसार परीक्षामा कुल २ सय १४ जना सहभागी थिए ।
बारपाक सुलिकोट गाउँपालिकामा २६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल ३ सय ८५ परीक्षार्थीमध्ये एक सय जना उत्तीर्ण भएको शिक्षा संयोजक भिमकुमार श्रेष्ठले बताए । आरुघाट गाउँपालिकामा ६५.१७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । कुल ४ सय २ परीक्षार्थीमध्ये २ सय ६२ जना उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख करुणा पनेरुले बताइन् । १ सय २० जनाले ग्रेड बृद्धि परीक्षा दिनुपर्ने र २० जना कक्षा दोहोरिने उनले जानकारी दिइन् ।
गण्डकी गाउँपालिकामा सबै परीक्षार्थी उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख सुदिप पन्थले बताए । उनका अनुसार परीक्षामा कुल ३ सय २४ जना सहभागी थिए । धार्चे गाउँपालिकामा ६३.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये १ सय ७० जना उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख दिपक सिर्मलले बताए । उनका अनुसार परीक्षामा कुल २ सय ६८ जना सहभागी थिए ।
चुमनुव्री गाउँपालिकामा ४०.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सहभागी ४९ जनामध्ये २० जना उत्तिर्ण भएको शिक्षा शाखा प्रमुख बासुदेव ओलीले बताए । २९ जनाले ग्रेड वृद्धि परीक्षा दिने उनले जानकारी दिए । भिमसेन थापा गाउँपालिकामा ६३.३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । २ सय ९५ परीक्षार्थी सहभागीमध्ये १ सय ८७ जना उत्तीर्ण भएको शिक्षा शाखाकी प्रतिमा ढकाल कार्कीले बताइन् । बाँकीले ग्रेड वृद्धि परीक्षा दिने उनले जानकारी दिइन् । शहीदलखन गाउँपालिकाले भने भोली वुधवार नतिजा प्रकाशन गर्ने जनाएको छ ।




