| बुधबार, अशोज १३, २०८३

हिमालय माविका संस्थापकको सालिक अनावरण

सहिद लखन गाउँपालिका–६ घैरुङको बाँस्कोटस्थित हिमालय माध्यमिक विद्यालयको ६४ औ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाइएको छ । कार्यक्रमको अवसर पारेर विद्यालयका संस्थापक स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ) को सालिक अनावरण गरिएको छ । विद्यालय परिसरमा निर्माण भएको गुरुङको अर्ध कदको सालिक गाउँपालिका अध्यक्ष रमेश थापा मगरले अनावरण गरेका हुन् । गुरुङका परिवारजनले आफ्नै खर्चमा उक्त सालिक बनाएका हुन् ।

कार्यक्रमकै अवसरमा विद्यालयका संस्थापक अध्यक्ष र सदस्यहरुलाई मरणोपरान्त सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले बताए । त्यस्तै भूपू र हाल कार्यरत शिक्षकहरुलाई पनि सम्मान गरिएको उनले जानकारी दिए ।
विद्यार्थीले उत्कृष्ट जिपिए ल्याउन सफल भएको बिषय अध्यापन गराउने चार जना शिक्षकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार कक्षा ५ मा अंग्रेजी बिषय पढाउने शिक्षक कमला ढकाल, नेपाली बिषय पढाउने सम्झना श्रेष्ठ, कक्षा ८ मा नैतिक शिक्षा पढाउने बिद्यालका प्रअ सिताराम ढकाल र कक्षा १० मा स्वास्थ्य शारिरिक बिषय पढाउने मदन थापा मगर सम्मानित भएका हुन् ।

त्यस्तै विद्यालयलाई सशुल्क जग्गा उपलब्ध गराउने आठ जनालाई पनि कार्यक्रमकै अवसर पारेर सम्मान गरिएको छ । विद्यालयमा निर्माण भएको प्रवेशद्वारको पनि उद्घाटन भएको र प्रवेशद्वार तथा घेरावार निर्माण गर्ने टिएम फाउण्डेशनका प्रोपराइटर गोपालबाबु श्रेष्ठलाई पनि सम्मान गरिएको बताइएको छ ।

सोही अवसरमा विद्यालयका संस्थापक सदस्यहरुको नाम शिलापत्रमा नामांकन समेत गरिएको छ । कार्यक्रमकै बीच विद्यालयमा संचालित बिभिन्न प्रतियोगिताका बिजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्