| मङ्लबार, अशोज १९, २०८३

४ करोड ३७ लाखमा चिटिक्क बन्यो मण्डली स्कुल, सांसद पाण्डेद्धारा उद्घाटन


चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभुत विद्यालयको भवन निर्माण भएको छ ।

जापानी जनताको आर्थिक सहयोग, एकिकरण नेपाल गोरखाको प्राविधक सहयोगमा शिक्षा विकास तथा समन्वय इकाई गोरखाको तथा बारपाक सुलिकोट गाउँपालिका र समुदायसँगको सहकार्यमा विद्यालय भवन चिटिक्क बनेको छ ।


उक्त भबनको बिहिवार एक कार्यक्रमका बिच नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता तथा सांसद सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । विद्यालय उद्घाटन गर्दै उनले भुकम्पपछि विद्यालय भबन राम्रो स्तरीय बनेको र त्यसको संरक्षण, शिक्षाको गुणस्तर विद्यालय, अविभाबक, विद्यार्थी मिलेर बनाउनुपर्ने बताए ।

२०७२ सालको भूकम्पले उक्त विद्यालय भवनमा क्षति पुगेको थियो । सरकाले भूकम्पले ध्वस्त पारेका भवनहरु पुननिर्माणमा प्राथमिकता दिएपनि पुननिर्माणका लागि जग्गा अभाव हुँदा भबन निर्माण हुन नसकेको विद्यालयका प्रधानाध्यापक तोयनाथ धितालले बताए ।

यस अघि जस्ताको छाना लगाएको अस्थायी टहरामा पठन पाठन गर्दै आएको विद्यालय अहिले सुविधा सम्पन्न भवन निर्माण भएसँगै धेरै सहज हुने उनले बताए । एक रोपनी ११ आनामा नौ वटा कोठा भएको तीन तल्ले सुविधा सम्पन्न भवन अहिले निर्माण भएको छ । सो भवन निर्माण गर्नुअघि जग्गाको व्यवस्था गर्न निवर्तमान गण्डकी प्रदेश सभाका सदस्य प्रकाशचन्द्र दवाडीले २५ हजार रुपैयाँ अनुदान दिएका थिए ।

एकिकरण नेपाल गोरखाको सार्वजनिक विद्यालयहरुको सिकाई वातावरण सुधार परियोजना अन्तरगत भवन निर्माण भएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।

भवनसँगै विद्यालय वरपर घेराबार, मैदान सम्याउने, खानेपानी, शौचालय, लाइब्रेरी र कक्षाकोठामा फनिर्चरको व्यवस्थापन पनि गरिएको छ । २०७८ चैत्र २८ गते शिलान्याश गरी काम सुरु भएको भवन विहिबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म ६४ जना बालबालिका अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोन कुमार बरामको अध्यक्षता तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सांसद सरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगर, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास आचार्य, एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटा, वडा अध्यक्ष कृष्ण गुरुङ लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्