
क्याम्पस प्रमुख कुट्ने र तोडफोड गर्नेलाई कारवाही नगरेको भन्दै द्रब्यशाह क्याम्पस बन्द
गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई कुटपिट गर्नेलाई प्रहरीले कानुनी कारवाही नगरेको भन्दै क्याम्पसको पठनपाठन बन्द गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले शुक्रवार एक बिज्ञप्ती जारी गर्दै क्याम्पस तोडफोड र प्रमुखमाथि कुटपिटमा संलग्नलाई उजुरी गर्दा पनि प्रहरीले कानुनी कारवाही नगरेकाले अनिश्चितकालिन क्याम्पस बन्द गरिएको बताएका छन् ।

क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई फागुन २ गते अखिल क्रान्तीकारीका द्रब्यशाह बहुमखी क्याम्पसका इकाई अध्यक्ष अनिष अर्यालको नेतृत्वमा केहीब्यक्तिहरुले कार्यकक्षमा कुटपिट र तोडफोड गरेका थिए । ‘उक्त घटनालाई बिभिन्न बाहनाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेको प्रति स्वतन्त्र विद्यार्थी युनियन घोर भ्तर्सना गर्दछ’ सभापति बस्नेतद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । कुटपिट र तोडफोडमा संलग्नलाई कानुनी कारवाही नगर्दा सम्म क्याम्पसको पठनपाठन र प्रशासन बन्द रहने बताइएको छ । शुक्रवार बिहानी र दिवा सत्रका कुनैपनि कक्षा संचालन नभएको क्याम्पसले जनाएको छ ।
अखिल क्रान्तीकारीका इकाई सभापति अनिष अर्याल गोरखा नगरपालिका मेयर कृष्णबहादुर राना मगरका स्वकीय सचिव समेत हुन् । उनले उक्त घटनामा संलग्न हुँदा नगरपालिकाको सरकारी मोटरसाईकल प्रयोग गरेपछि नगरपालिकाभित्र यस विषयमा बिवाद सुरु भएको छ । नगरपालिकाको कर्मचारी, स्रोत साधन कुटपिट र तोडफोडमा प्रयोग भएको भन्दै कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिबिच बिवाद चुलिँदो छ ।
उक्त घटनामा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगरका स्वकीय सचिव राजन आले मगर, अनेरास्वीयू क्रान्तिकारी गोरखाका अध्यक्ष बिष्णु पाण्डे, सुवास तामाङ, अमृत श्रेष्ठ लगायत सहभागी रहेको स्वीयूले बिज्ञप्तीमा उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जाहेरी आएको र थप प्रक्रिया अघि बढेको बताए । क्याम्पस ब्यवस्थापन समिति र प्रमुखले जाहेरी दिएपछि फेरी छलफल गर्न समय मागेकाले मुद्धा दर्ता नभएको उनले बताए । ‘मुद्धा दर्ता गर्न समस्या छैन, आज हामी प्रक्रिया अघि बढाउँछौँ’ उनले भने । अभद्र कसुर शिर्षकमा मुद्धा दर्ता भएर प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
सरकारले फागुन १ गते जनयुद्ध दिबसको अवसरमा बिदा दिएको बारे क्याम्पस प्रमुख दुवाडीले आक्रोश ब्यक्त गर्दै सामाजिक सञ्जालमा बिदाको बिरोध गर्दै स्टाटस लेखका थिए ।
स्टाटसपछि अखिल क्रान्तीकारीका इकाई अध्यक्ष अर्यालले एक बिज्ञप्ती जारी गर्दै तत्काल अभिब्यक्ति फिर्ता लिन अल्टिमेटम दिएका थिए ।




