
सहिद जयसिंह चुमी मगरको सालिक अनावरण
शहिद लखन गाउँपालिकामा जयसिंह चुमी मगरको सालिक अनावरण गरिएको छ । गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाई र गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले संयुक्त रुपमा सालिकको अनावरण गरेका हुन् ।
नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवसको अवसरमा जयसिँह चुमीको सालिक निर्माण गरी अनावरण गरिएको गाउँपालिका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।
पालिकाको आर्थिक वर्ष २०७८÷०७९ मा दश लाख विनियोजित बजेटबाट सालिक निर्माण गरिएको थियो ।
राणा शासनको अन्त्य र प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि भएको प्रथम जनविद्रोहमा गठित जनसरकारका प्रमुख प्रथम सहिद लखन थापा थिए भने जयसिंह चुमी मगर जनरल(सेनापति) थिए ।
राणशासन विरुद्ध विद्रोही किल्ला निर्माण गरिएको काहुले भँगारमा वि.सं. १८९० मा जन्मिएका जयसिंह चुमी रानामगर युवा अवस्थामा नेपाली सेनाको पुरानो गोरख गणमा भर्ना भै कप्तानसम्म भएका थिए ।

सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।
प्रथम जनविद्रोही अभियानका क्रममा राणा शासन व्यवस्थाविरुद्ध सशस्त्र विद्रोही किल्ला निर्माण, राजनीतिक संगठन निर्माणमा धर्म र देवीदेवताको रणनीतिक उपयोग, प्रजातान्त्रिक शासन व्यवस्थाका लागि राजनीतिक दस्तावेज निर्माण, जनसेवा र जनसरकारको गठन तथा वैकल्पिक सत्ताको स्थापना लगायतका कार्यमा उनीहरु सहभागी भएका थिए ।
जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

यसअघि प्रथम सहिद लखन थापाको सालिक केही बर्षअघि नै निर्माण गरिसकिएको थियो । जयसिँह चुमी मगरको सालिक अनावरणअघि प्रथम सहिद लखन थापा मगरको सालिकमा माल्यार्पण गरिएको थियो ।




