
गोरखामा रुम टु रिड : रमाउँदै पढछन् बालबालिका (फोटो फिचर)
गोरखामा रुम टु रिड कार्यक्रम प्रभावकारी बन्दै गएको कार्यक्रम लागु भएका विद्यालयका शिक्षकहरुले अनुभव सुनाउने क्रममा बताएका छन् । रुट टु रिड परियोजनाले साक्षरता, बालिका शिक्षा कार्यक्रम लागु भएका विभिन्न विद्यालयका शिक्षकहरुलाई तालिम र विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने गरेको छ । सो कार्यक्रमले सिकाई सहज भएको उनीहरुले सुनाए ।
‘म २९ वर्ष पढाएँ, एक वर्षयता रुम टु रिड को कार्यक्रम लागु भएपछि पढाउने नयाँ तरिका, शिक्षक सिकाई सामग्रीको प्रयोग गर्ने नयाँ तरिका थाहा भयो’, शहीदलखन ८ राम्चे आधारभुत विद्यालयका शिक्षिका भगवती अधिकारीले भनिन् । उनी बालवालिकालाई खेलाउँदै सिकाउँदै गर्छिन् । तालिम लिएपछि बालवालिकालाई पढाउने उनको जोश बद्लिएको छ । ‘पहिले भन्दा अहिले धेरै सजिलोसँग सिकेको जस्तो लाग्छ’, उनले भनिन् ।

गोरखाको ८ वटा पालिकाको एकसय वटा विद्यालयमा रुम टु रिड कार्यक्रम लागु भएको छ । बालिका शिक्षा कार्यक्रम भने १४ वटा विद्यालयमा लागु भएको परियोजनाका सिनियर कार्यक्रम अधिकृत एलबी खड्काले बताए ।
कार्यक्रम लागु भएका विद्यालयको कक्षाकोठाभित्रै बुक कर्नर छन् । उनीहरुले पाठ्यपुस्तक बाहेकका किताब पनि पढ्न पाउँछन् । चित्र सहितको किताब पढ्न पाउँदा उनीहरु खुसी हुने गरेको अनुभव शिक्षकहरु सुनाउँछन् ।

थप शैक्षिक सामग्री सहितका पठनपाठन गर्दा विद्यार्थीहरुको सिकाई क्रियाकलापमा पनि धेरै सुधार आएकोे भिमसेन गाउँपालिका ६ झिंगटेमा रहेको ध्रुव ज्योति आधारभूत विद्यालयका शिक्षक बुलिन्द्र पाण्डेले बताए । यो शैक्षिक सत्रबाट साक्षरता कार्यक्रम लागु भएको हो । सो परियोजना अन्तरगत शैक्षिक सामग्री तथा बसाई व्यवस्थापन पनि एकदम राम्रो भएको भन्दै उनले विद्यार्थीहरुलाई आवश्यक नयाँ किताबहरु उपलब्ध गराएको उनले बताए ।
तालिम प्राप्त शिक्षकहरुद्वारा पढाउँदा विद्यार्थीहरुलाई सिकाउने प्रक्रिया र सिक्ने कुरामा पनि धेरै सुधार आएको विद्यालयका प्रधानाध्यापक जहिमा खातुनले बताइन् । विद्यालयमा हाल एकसय नौ जना विद्यार्थी अध्ययनरत त्यहाँका विद्यार्थीहरुमा पढ्ने सीप र बानीको विकास भएको उनले जानकारी दिइन् ।

सोहि गाउँपालिकास्थित अश्राङस्थित नवजागृति चण्डी माविमा पनि साक्षरता कार्यक्रम धेरै प्रभावकारी भएको प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेले बताए । विद्यालयमा लागु भएको बालिका शिक्षा कार्यक्रमबाट विद्यालयमा बालिकाहरुको पठनपाठन सुधार हुनुका साथै क्षमता अभिवृद्धि भएको, समस्याको समाधान कसरी गर्ने भनेर निर्णय लिन सक्ने क्षमताको विकास भएको उनले बताए । सोहि विद्यालयमा बालिका शिक्षा कार्यक्रम संचालन गर्दै आएकी पार्वती श्रेष्ठले बालबालिकामा समस्या समाधान गर्न सक्ने क्षमता विकास भएको बताइन् ।
रुम टु रिडका सिनियर कार्यक्रम अधिकृत एलपी खड्काले तिन चरणमा ६ जना शिक्षकलाई तालिम दिएको बताए । उनका अनुसार जिल्लाभर १४ जना साक्षरता सहजकर्ताका रुपमा खटिएका छन् ।

सो कार्यक्रम अन्तरगत आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु पनि उपलब्ध गराउदै आएको छ । त्यस्तै, बालिका शिक्षा लागु भएको विद्यालयहरुमा बालिकाहरुलाई जीवनउपयोगी, सकारात्मक सोचको विकास गर्ने, सहि निर्णय लिन सक्ने क्षमताका विकास गर्ने र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने खालका ज्ञान दिने बालिका शिक्षा कार्यक्रम अधिकृत ज्योति आचार्यले बताईन् ।
गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजिरकोट, सिरानचोक, भिमसेन थापा, गण्डकी, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकामा साक्षरता कार्यक्रम संचालन भएको छ । रुम टु रिड द्धारा संचालित यो परियोजना गोरखामा एकिकरण नेपालको सहकार्यमा विद्यालयले कार्यान्वयन गरिरहेको छ । पुस्तकालय निर्माणपछि बालवालिकाको सिकाईमा महत्वपूर्ण योगदान पुग्ने एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले वताए ।

विद्यार्थीको पठन क्षमतालाई अझै निखारता ल्याउन वर्षको दुईपटक निर्माणात्मक परीक्षण र अभिभावक बैठकमा हुने छलफल आदिले विद्यालय परिवार र समुदायलाई जोड्न मद्दत गरिरहेको राम्चे आधारभुत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश श्रेष्ठले बताए ।
शिक्षकको क्षमता विकासका लागि तालिम, कक्षाकोठा तथा पुस्तकालय केन्द्रित गतिविधिलाई चुस्त दुरुस्त राख्नका लागि सहजकर्ताबाट नियमित अनुगमन तथा सहयोगले विद्यालयमा साक्षर वातावरण सिर्जना गर्न मद्दत पुगेको उनले बताए ।
न्यून आय भएका समुदायका बालबालिकामा साक्षरता सीप र पढ्ने बानीको विकास तथा बालिकाहरूका लागि जीवन उपयोगी सीप विकासमा रुम टु रिडले काम गरिरहेको जनाएको छ ।




