
चार महिनामा ३९ हजार ४९५ जनाले संग्रहालयको अवलोकन गरे, आठ लाख राजस्व संकलन
गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या बर्सेनी बढ्दो छ । आर्थिक वर्ष २०७९÷०८० को चार महिनामा ३९ हजार चार सय ९५ जनाले संग्रहालयको अवलोकन गरेका छन् ।
कोभिड र लकडाउनपछि गोरखा संग्रहालय अवलोकन गर्ने आउने संख्या यो वर्ष बढ्दो क्रममा छ । गत साउन महिनामा छ हजार पाँच सय ५५ जनाले संग्रहालयको अवलोकन गरेका छन् । भदौमा छ हजार छ सय ६०, असोजमा सात हजार तीन सय ८० र सबै भन्दा धेरै कार्तिकमा १९ हजार तीन सय जनाले संग्रहालयको अवलोकन गरेको संग्राहालय प्रशासनले जनाएको छ ।
अवलोकनकालागि आएकामध्ये विद्यार्थी १७ हजार एकसय ६० जना, नेपाली २२ हजार ३० जना, सार्क राष्ट्रका १९ जना र अन्य बाह्य राष्ट्रका दुईसय छ जना गरी ३९ हजार चारसय ९५ जनाले संग्रहालय भ्रमण गरेको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अनुमान गरिएको छ ।

उनीहरुको प्रवेश टिकटबाट सातलाख ९३ हजार सात रुपैया राजस्व संकलन भएको छ । गोरखा संग्रहालयमा आउने विद्यार्थी रु १०, नेपालीले २५, सार्क राष्ट्रका नागरिकले ५० र अन्य देशका पर्यटकले एकसय रुपैयाको टिकट काटनुपर्ने व्यवस्था छ । साथै संग्रहालयभित्र भिडियो खिच्नका लागि दुईसयदेखि एकहजार तिर्नुपर्र्ने व्यवस्था रहेको संग्रहालय प्रमुख अधिकारीले बताए ।
किताबमा पढेको इतिहासबारे बुझ्न विद्यार्थीहरुका लागि पछिल्लो समयमा गोरखा संग्रहालय शैक्षिक केन्द्रको हव बन्दै गएको छ । यहाँ नेपाल एकीकरणको समयमा प्रयोग भएका हतियारहरू, शाहवंशीय इतिहास, विभिन्न शिलालेख, नेपाली पहिचान झल्काउने विभिन्न जातिको भेषभूसा, विभिन्न बाजाहरूलगायतका इतिहासका धेरै महत्वपूर्ण बस्तुहरु संग्रहालयभित्र राखिएका छन् ।
१८० वर्ष पुरानो दरबारमा रहेको गोरखा संग्रहालय ०६५ सालदेखि सर्वसाधरणका लागि खुला गरिएको थियो । संग्रहालयमा १२ वटा कोठा छन् । संग्रहालयमा नेपाल एकीकरण अभियानमा प्रयोग भएका हातहतियार राखिएका छन् । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाहरूको जन्म कुण्डलीलगायत नालीबेली, प्राचीन भाँडावर्तन, नेपालमा बसोबास गर्ने मुख्य जातजातिका डमी, प्राचीन महत्वपूर्ण व्यक्ति, स्थल तथा सामानको तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्ष, प्राचीन बाजागाजाहरू राखिएका छन् ।
संग्रहालयसँगै ६८ रोपनी क्षेत्रफलमा फैलिएको गोरखा पार्क पनि छ । गोरखा संग्रहालय रहेको दरबारलाई परम्परागत शैलीको सबैभन्दा कान्छो नमुनाको रूपमा लिइने संग्रहालय प्रमुख अधिकारीले बताए ।
‘तत्कालीन युवराज सुरेन्द्रलाई राख्न विसं १८९६ मा निर्माण भएको यो दरबार परम्परागत शैलीको दरबार वास्तुकलाको सबैभन्दा कान्छो नमुना हो’, उनले भने, ‘त्यसपछि बनेका दरबार युरोपेली शैलीका छन् ।’ परम्परागत दरबार वास्तुकलाको कान्छो दरबार भएकाले पनि यसको महत्व रहेको उनले बताए ।
तत्कालीन युवराज सुरेन्द्र त्यहाँ नबसेपछि सो दरबारमा जिल्लाका सबै प्रशासनिक इकाइ सञ्चालित थिए । ०४२ सालमा गोरखा दरबार संरक्षण परियोजना लागू भएदेखि कार्यालयहरू अन्यत्र पुनःस्थापित भएका थिए ।




