| बिहिबार, अशोज २१, २०८३

द्रब्यशाह क्याम्पसलाई झण्डै १० करोड आर्थिक सहयोग प्राप्त

अमेरिकी नागरिक जेनिस ह्व्पिलद्वारा गोरखामा सदरमुकाममा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसलाई झण्डै १० करोड रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । गोरखा सदरमुकाममा विहिबार पत्रकार सम्मेलन गर्दै क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले क्याम्पसको दिगो विकास र दक्ष जनशक्ति उत्पादनका लागि नौ करोड ७८ लाख प्राप्त भएको जनाएको छ ।

‘जेनिस ह्व्पिल क्याम्पस विकास कोष’ स्थापना गरी सो रकम जम्मा गरिएको छ । कार्तिक २३ गते बसेको क्याम्पस सञ्चालक समितिको वैठकले उक्त ‘जेनिस ह्व्पिल क्याम्पस विकास कोष’ पारित गरी उक्त रकम सञ्चालन गर्नका लागि संचालन कार्यविधि २०७९ तयार पारेको क्याम्पस प्रमुख दुवाडीले बताए । उनका अनुसार क्याम्पस विकास कोषमा सो रकम प्राप्त भएको थियो । सो रकमबाट आउने ब्याज क्याम्पसले तयार पारेको संचालन कार्यविधि २०७९ अनुसार खर्च गरिने उनले बताए ।

कार्यविधिका अनुसार छात्रवृत्ति, पुरस्कार, अतिरिक्त लगायतका विद्यार्थी लक्षित कार्यक्रमका लागि १० प्रतिशत, अनुसन्धान तथा क्षमता अभिवृद्धि, वृत्तिविकास र अध्ययनका १० प्रतिशत र क्याम्पसमा कार्यरत जनशक्तिको कल्याणकारी कार्यमा १५ प्रतिशत रकम खर्च गर्न पाइने छ । त्यस्तै, २५ प्रतिशत रकम कोषमा नै थप गरिने छ भने ४० प्रतिशत रकम क्याम्पस संचालनका लागि खर्च गर्न सकिने कार्यविधि बनाएको छ ।

उनी २०४९ र २०६१ सालमा गोरखा आएका थिए । दोस्रो पटक नेपाल भ्रमणमा आउँदा संस्थापक क्याम्पस प्रमुख एवं पूर्व अध्यक्ष मोहननारायण श्रेष्ठको समन्वयमा क्याम्पसका संरक्षण सदस्य अमेरिकी नागरिक जेनिसले द्रव्यशाह क्याम्पसको दिगो विकास र संचालनका लागि आफनो बाँकी रहेको नीजि सम्पति आफ्नो मृत्युपछि क्याम्पसलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो रकमबाट क्याम्पसको गुणस्तरवृद्धि गर्न, आर्थिक रपमा पछाडि परेको जेहेन्दार, दलित, अल्पसंख्यक तथा लोपोन्मुख विद्यार्थीहरुलाई थप आकर्षण गर्न सहयोग पुग्ने क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले बताए ।

वार्षिक व्याजबाट क्याम्पसलाई करिब एक करोड रुपैयाँ प्राप्त हुने र यसले क्याम्पसको आन्तरिक चालु खर्चमा प्रयोग गर्ने र दीर्घकालीन स्थायी स्रोत रहन समेत सफल हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष धिरजबहादुर मास्केले बताए ।
क्याम्पसलाई आर्थिक सहयोग गरेका जेनिसको सन २०२० फेब्रअरी १ मा मृत्यु भएको थियो । जेनिसले यसअघि २०७० सालमा शिक्षक कर्मचारी क्षमता वृद्धिका लागि आठ लाख ६० हजार आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्