
सम्झनै मन लाग्दैन स्कूले जीवन, स्कूल पढ्न पाँचघण्टा उकाली ओराली
शिव उप्रेती
स्कूले जीवन रमाइलो हुन्छ भन्ने कुराले धार्चे २ लामावेशीकी निरिता घले छक्क पर्छिन्, । रुचे पनि नरुचे पनि बिहान छ बजे खाना खाएर झिस्मिसेमै उकालो लाग्नुपर्छ केरौँजा मावि पुग्न ।
सँधै दिन सङ्लो हुँदैन, कहिले झरी, कहिले हिमपात । पाइलैपिच्छे जुका टिप्दै, स्कूल पुग्दा कहिले अबेला भइसक्छ । ‘कहिले दुख बिमार भइन्छ, कहिले घरकामले ढिला हुन्छ ।
तीन घण्टा ठाडो उकालो चढेर ढिला स्कूल पुग्दा सर, मिसको गाली खानुपर्छ’, उनी भन्छिन्, ‘बर्खाका बेला अझै के कुरा गरौँ, पहिरो भित्रभित्रै हिँड्नुपर्छ ।’ स्कूले जीवनमा आफूहरुले खेपेको दुख सुगमका मान्छेले पत्याउन पनि गाह्रो हुने उनको भनाइ छ ।
समान दुख झेलेर हालसालै स्कूले जीवन पार गरेकी अनिता घलेलाई अहिले स्कूले जीवनतिर फर्केर त्यो दिन सम्झन मन लाग्दैन । ‘लामावेशीमा पाँचकक्षासम्म मात्र स्कूल छ । छदेखि १० कक्षासम्म पढ्न केरौँजागाउँ पुग्नुपर्छ’, उनी भन्छिन्, ‘जति छिटो हिँडे पनि स्कूल पुग्न तीनघण्टा, फर्कन दुईघण्टा ठ्याक्कै लाग्छ । गह्रुङ्गो झोला बोकेर बिहान झिस्मिसेमै उकालो चढ्नुपर्छ । घरबाट निस्कँदा पनि अँध्यारै हुन्छ, भरे घर आइपुग्दा पनि अँध्यारै हुन्छ ।’
कक्षा १० मा पुगेपछि विद्यालयले निशुल्क होस्टलमा राख्छ । तर, होस्टेलको पनि भन्न मिल्ने, नमिल्ने खालका दुखहरु छन् ।
होस्टलमा आधारभूत सुविधाहरुको पनि अभाव छ । ‘होस्टेलमा बस्न पनि सजिलो छैन । सिरक डसना पुग्दो छैन । मंसीर लागेपछि ठिहिरो बढ्न थाल्छ ।
न ज्यानमा बाक्लो लुगा, न ओछ्यानमा’, उनी भन्छिन्, ‘हिउँदमा अलिअलि पानी पर्न थालेपछि हिउँ पर्न थाल्छ । पुस, माघ कसरी कटाउने ?’ होस्टलमा बस्नेलाई दिउसो खाजाको व्यवस्था पनि नभएको उनको भनाइ छ । हुनेले त घरबाटै जोहो गर्छन्, नसक्नेनलाई साह्रै समस्या भएको उनको भनाइ छ ।
सानोमै आमाले छोडेको र बुबा पनि शारीरिक रुपमा असक्त भएकाले स्कूले जीवन सकेपछि कलेज जीवन सुरु नगरेको उनले बताइन् ।
पढ्नैपर्ने बाध्यताले गाँजेर मात्र यही दुख झेलिरहेका छन्, कक्षा आठमा पढ्ने सुरेश घलेले । हिउँदमा भन्दा उनलाई बर्खाका बेला अत्यास लाग्छ । ‘जताततै पहिरोले हिँड्ने बाटो हुँदैन । तल पहिरो गइरहेको हुन्छ, माथिबाट बाटोमा ढुंगा खसिरहेको हुन्छ’, उनी भन्छन्, ‘पहिरै पहिरोमा यति लामो बाटो ज्यान जोगाउँनै मुस्किल पर्छ ।’
नपढौँ, जीवन अन्धकार होला भन्ने पिर, पढौँ स्कूल आउन जान सजिलो छैन अर्का कक्षा ७ मा पढ्ने सुजन गुरुङलाई । ‘उठ्नेवित्तिकै खाएको खाना स्कूल जाँदाजाँदै बाटोमै भोक लाग्छ’, उनी भन्छन्, ‘झोलाभरि किताब र खाजा मकै हुन्छ । त्यसैले अलिअलि भोक मर्छ ।’
केरौंजा गाउँ र केरौंजावेशीका बासिन्दा पहिरोको डरले बिस्थापित भएर लामावेशीमा बस्न आएका छन् । यहाँ करिब एकसय ३० घरधुरी बसोबास गर्छन् । शिव आधारभूत विद्यालयको पढाइ सकेपछि यहाँबाट केरौँजा माविमा करिब ४० जना बालबालिका पढ्न जाने सुजन गुरुङको भनाइ छ ।
कक्षा आठ र कक्षा १० का बालबालिकालाई होस्टेलमा निशुल्क रुपमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सुन्दर खनाल बताउँछन् । ‘सरकारले ४० जनालाई होस्टलमा राख्नका लागि हिमाली छात्रवृत्ति कोटा उपलब्ध गराएको छ ।
उहिया, रुञ्चेत, हुल्चुक, केरौँजाबेशी, लामावेशीदेखिका विद्यार्थी यहाँ पढ्न आउँछन्’, उनी भन्छन्, ‘जति कम गर्दा पनि ५०, ५५ जना नराखी सुखै छैन । त्यसैले भनेजस्तो सुविधा दिन मुस्किल भएको हो ।’ दुर्गमको दुख यस्तै रहेको उनको भनाइ छ ।




