| बिहिबार, बैशाख ३०, २०८३

नेपाली सेनाद्वारा संचालित स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

शहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकीमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ५ सय २५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाली सेनाको रिपुमर्दन गण र गाउँपालिकाको संयुक्त आयोजनामा शिविर भएको हो । शुक्रवार र शनिवार दुई दिन शिविर संचालन भएको थियो ।

पहिलो दिन शुक्रवार २ सय ७१ जनाले सेवा लिएका थिए । शनिवार २ सय ५४ जनाले सेवा लिएको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए । ‘सामान्य चेकजाँच गराउने २ सय ५४ जना हुनुहुन्थ्यो,’ उनले भने, ‘हाडजोर्नी सम्बन्धी समस्या भएका १ सय ४९ जना, छाला रोगका २२ जना र दन्त रोगका १० जनाले स्वास्थ्य सेवा लिनुभयो ।’

९० जना महिलाले स्त्री रोग सम्बन्धी स्वास्थ्य सेवा लिएको उनले जानकारी दिए । शिविरमा शहिद लखन र गण्डकी गाउँपालिकाका स्थानीय स्वास्थ्य परिक्षण गराउन आएका थिए । शिविरमा नसर्ने रोगहरुको ल्याव परिक्षण र महिलाहरुको पाठेघरको मुखको भिआईए परिक्षण सेवा समेत प्रदान गरिएको थियो ।

स्वास्थ्य सेवा लिएकाहरुलाई आवश्यकता अनुसार निशुल्क रुपमा औषधी वितरण समेत भएको छ । शिविरमा घैरुङ स्वास्थ्य चौकीका मेडिकल अधिकृतसहित नेपाली सेनाको विशेषज्ञ चिकित्सकको समूहले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरको शुक्रवार नेपाली सेनाको नम्वर ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी नुरेन्द्र मल्लले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्