
रित्तियो फुरुण्डाँडा, दार्चे पनि रित्तिँदै
शिव उप्रेती :
गत बिहिबार दिउँसो दुईबजे सहिदलखन गाउँपालिका ६ दार्चे फुरुण्डाँडाको सिरान घरमा पुग्दा एकजना हजूरबुबा उमेरका वृद्ध फोनमा बोल्दै थिए । छ फिटभन्दा अग्लो कद, दुब्ला पातला देखिने वृद्ध घरसंगैको बारीको डल्लामा बसेर निहुरिएर फोनमा एकाग्र थिए । ढाकाको शिरपोस बेपर्वाह ढल्किएको, दुई पाउ म्याजिक चप्पलभित्र जतनसाथ टेकिएको देखिन्थ्यो । तनाबले हो कि, जाडो मौसममा एकथान सर्ट र सुरुवाल उनका लागि पर्याप्त झैँ देखिन्थ्यो ।
छेवैमा फरिया, चोली र निधारभरि सिन्दुर सजाएकी हजूरबासित उचाइ र उमेर मिल्दोजुल्दो एक वृद्धा बोरा ओछ्याएर बसेकी थिइन् । कहिले मजेत्रोले, कहिले हत्केलाले आँशु पुछ्दै संवाद सुनिरहेकी थिइन् । अर्कोपट्टि छेउमा झोला बोकेका एक अधवैँशे (सायद गाउँले) पुरुष पनि टाउको बाङ्गो पार्दै वृद्धतर्फ कान थाप्दै देखिन्थे । आँगनभरि मुख बाँधिएका झिटीगुण्टा असरल्ल थिए ।

परैबाट चनाखो भएर संवाद सुन्दा उनी भक्कानिइरहेका थिए, ‘छोरोले हाँडाभाँडा झिकेर आँगनमा थुपारिसक्यो । गाडी बोला’छ । आमा मरे’नि जान्न भन्छे, बिहानैदेखि रो’को रोयै छ । छोरोचैँ हाम्रो कुरै सुन्दैन । मैले गर्नी के, भन् त’, एकछिन उताको कुरा सुनिसकेपछि फेरि उनी बोल्छन्, ‘म पनि जान्न, मरे’नि यहीँ मर्छु । कुहिनु परे’नि यहीँ कुहिन्छु ।’
वृद्धको टेलिफोन कुराकानीले उनीहरुभन्दा पर, आँगनको एउटा छेउमा उभिएका पातला–पातला, अग्ला एक युवक तनाबमा परेको देखिन्थे ।
नचिनेको मान्छेको प्रवेशले उनी अलमलमा परे । संवाद लम्बिन पाएन । ‘एकछिन पख् त । पछि गर् यहाँ को बाबु आउनु भा’छ’, भन्दै फोन काटे ।
तनावसहित आएका ती युवाले आक्रोश साम्य भएपछि सबै कुरा प्रस्ट पारे । उनीहरु आज यहाँबाट बसाइँ सर्दैछन्, चितवन माधवपुर । त्यसका लागि उनले एक बर्षको अग्रिम भाडा तिरेर त्यहाँ एउटा कोठा भाडामा लिइसके । जानका लागि सबै सामान तयार गरिसके, तर बुबा–आमाले घर छोड्न नमानेपछि तनाबमा डुबेको पनि उनले बताए ।
बुबा आमालाई चितवनमा कोठामा छोडेर वैदेशिक रोजगारीका लागि मलेसिया दूतावासमा प्रक्रिया पनि अघि बढाइसकेका छन् ।
त्यहाँबाट बसाइँ सर्ने उनी अर्थात विष्णु न्यौपाने अन्तिम घरधनी हुन् । न्यौपाने र ढकालको १२ घरधुरीमध्य यसअघि १० घर परिबारले गाउँ छाडिसके । उनले एक्लै बस्ने अभ्यास नगरेका पनि होइनन्, तर असाध्यै गाह्रो भयो । ‘हामी न्यौपाने खलक यहाँ बसेको १० पुस्ता भयो । आफ्नो थातथलो छोड्ने मन नहुँदा नहुँदै पनि जानु पर्दोर’छ । यो हाम्रो वाध्यता हो ? आफ्नो भविष्यका लागि, आफ्नो बाउ आमा पाल्नका लागि’, एकश्वासमा उनले बाध्यता सुनाए, ‘वरिपरि जंगलै जंगल छ । भन्नुस् त ८० काटेका बुढाबुढीलाई लिएर एक्लै कसरी बस्ने ?’ बुढाबुढीलाई पालेर एक्लै भए पनि उनले बस्ने हिम्मत हारेका होइनन् ।
तर गरिखान सकेनन् । कसैले सघाएनन् । अन्ततः विदेशिनुको विकल्प उनको सामु अर्को केही देखिएन । जंगलको बीचमा बुबाआमालाई छाडेर पनि जान सकेनन् । त्यसैले गाउँका सबै बसाइँ सरेर गएको चितवन माधवपुरमा नै उनले पनि डेरा लिए । बुबा आमालाई त्यहाँ राख्ने र आफू विदेशिने योजना बनाए ।
‘घरमा ८० काटेका बुबा र आमा मात्र छन् । त्यसैले म विदेश जान्न, यहीँ गरेर खान्छु भनेर स्वरोजगार गर्न जसोतसो पाँच लाख रुपैयाँ खर्च गरेर बाख्राको खोर बनाएँ । ४८ वटा बाख्रा र कुखुरा पनि किनेँर पाल्न थालेँ’, उनले दुख पोखे, ‘गाउँलाई हराभरा बनाउने भनेर आफैले पाइप किनेर ऊ… परदेखि पानी ल्याएँ । हामी चारपाँच घर आफैआफै पैसा हालेर खोल्सादेखि गाउँसम्म रोड पनि खन्यौँ । नगरेको होइन हदैसम्म गरेका हौँ । तर व्यवसाय गर्न एकफेर लगानी गरेर मात्र नहुँदो रहेछ । त्यसमा अर्को बर्षदेखि खाप्ने पैसा पनि भएन । न बाख्राले बजार पायो, न लगानी थप्न सकियो । ऋण माग्न भनेर गोरखा बजारका सप्पै वैँक चाहारेँ । १० वटा वैँकका मेनेजरले चिन्छन् मलाई, तर पत्याएनन् । सरकारले पनि सपोर्ट गरेन । सरकारले सहयोग गर्ने पनि कामै नगरी ठगेर खानेलाई रहेछ । हामीजस्तो गरेर खाने किसानलाई होइन रहेछ । हामी पनि लगानी गर्छौँ, दुख गर्छौँ, सरकारले पनि साथ देओस् भन्ने चाहेको तर आफूले सबै भार थाम्न सकिएन, कसैको साथ पाइएन । म त भन्छु, यो देशमा हामीजस्ता निम्नबर्गका लागि सरकार छैन, छँदैछैन । मलाई थाहा छ, मलेसिया गए पनि हामीले कमाउने मासिक ४० हजार रुपैयाँ मात्रै हो । त्यो भन्दा धेरै हामी कमाउन सक्दैनौँ त्यै’पनि यहाँ छैन । त्यसैले मैले यो निर्णय लिएको हो ।’

८० बर्षे दम्पत्ति रुद्रप्रसाद र ज्ञानीमायाकी छोरीको डेरा पनि माधवपुरमै छ । ‘म नहुँदा दिदीको रेखदेख पनि पुग्छ भनेर दिदीको डेरा नजिकै लगेर बुबाआमालाई छाड्न खोजेको हो’, उनले भने ।
झिटिगुण्टा बाँधेर उनीहरु टूक र ट्याक्टरको पर्खाइमा छन् । सन्दुस, हुक्काबाहेक बोरामा हालेर बाध्न मिल्नेजति सबै बाँधेर तयार पारेका छन् । ‘छ मुरी धान थियो । त्यतिले हामी बुढाबूढीलाई एक बर्ष खान पुग्थ्यो, त्यो पनि बेच्यो । एउटा भैँसी थियो, त्यो पनि ७० हजारमा बेच्यो । मत नाङ्गो भएँ’, छोराको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै रुद्रप्रसाद भन्छन्, ‘बुढाबूढी मिलेर ५५ रोपनी खेतबारीबाट अन्न भित्र्याइन्थ्यो । पाँच छ वटा भैँसी, १२, १३ वटा गाई, १८, २० वटा बाख्रा पालियो ।
कुरिनघाटबाट भारी बोकेर छोरा हुर्काएँ, छोरी हुर्काएँ, पढाएँ, बिहेदान गरेँ । आज मर्ने बेलामा बुकुलट्टै भैयो ।’ सरकारले पनि नहेरेको होइन तर मान्छेले व्यवस्थापन गर्न नसकेको उनको बुझाइ छ । ‘सरखारले पनि कति गरोस् र ? दैलामा रोड ल्याइदेको छ । घरघरमा धारा, विजुली बत्ती ल्याइदेको छ । दुई बूढाबूढीलाई १२ हजार भत्ता दिएको छ । सरकारले नग¥या होइन, यहाँभन्दा के गर्ने, ग¥या छ । तर मान्छेले गरेनन्’, उनी भन्छन्, ‘सप्पैले छोडेर गए । दुख बिमार पर्दा सहायता दिने मान्छे भएनन् । रातदिन बाघभालु कराउँछ । सास भा’ जातलाई एक्लै भएपछि डरै हुने रहेछ । छोरो नि जाम भन्छ, छोरी नि आउनु भन्छे । बुढी जान नमानेर रुन्छे । जो भएका हाँडाभाँडा पोको पुन्तुरो पारिसक्यो । म त्यसै बिलखबन्धनमा परिरा’छु ।’
उनीहरुको पोकापुन्तुरा ओसार्न एउटा टूक र एउटा ट्याक्टर चारबजे आइपुग्दैछ । त्यसमा विष्णु न्पौपाने र विष्णुप्रसाद न्यौपानेको परिबार एकैचोटी फुरुण्डाँडा छोड्दैछन् । किनभने २०७२ को भूकम्पपछि यहाँ बाँकी बसेका न्यौपाने र ढकालका १२ घरधुरीमध्य गतबर्ष एकैचोटी चार घरपरिबार बसाइँ सरे । यसबर्ष छ परिबार एकैचोटी सरे । त्यसैले आफूहरु पनि सर्न लागेको विष्णुप्रसाद न्यौपानेको भनाइ छ ।
विष्णुप्रसाद न्यौपानेको बाध्यताको कथा बेग्लै छ । १५ बर्ष मलेसियामा काम गरेर कमाएको २० लाखले भर्खरै ढलान गरेर नयाँ घर बनाएका छन् । घरभित्रै ट्वाइलेट बाथरुमसहितको गाउँमै नौलो खालको सुख सुविधायुक्त घर बनाए । गएराती पनि श्रीमती मैनासित मिलेर आधारातसम्म रंगरोगन गरे तर आजै घर छाडेर सदाका लागि जाँदैछन् । ‘मलेसियामा थिएँ । यी अल्लोपल्लो घरका साथीभाइले सँधै विदेश बसेर हुँदैन । गाउँमै केही गर्नुपर्छ तँ आइस् भने हामी पनि मिलेर नयाँनयाँ व्यापा व्यवसाय गर्छौँ भनेर बोलाए’, उनी भन्छन्, ‘सबै मिलेर आ–आफ्नै खर्चले डोजर लगाएर गाउँसम्म मोटरबाटो खनियो ।
कृषि फाराम बनाइयो तर पोहर छ घर, यो बर्ष पाँचघर उठेर गए । यो बर्ष तल खोल्सादेखि गाउँसम्मको बाटो राम्रो गर्न भनेर प्रदेशबाट १० लाख बजेट परेको छ । टेण्डर भएर माघ १० गतेदेखि काम गर्ने भनेको छ । कृषि फारामलाई पनि पाँच लाख परेको छ तर गाउँमा कोही पनि छैन ।’ आजभर्खरसम्म सिँचाइ गरिरहेको कृषि फर्म भोलिदेखि सुख्खा लाग्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।

यस भेगका न्यौपानेहरुको १० पुस्तादेखिको बासस्थान फुरण्डाँडालाई दुई विष्णु न्यौपानेका परिबारले पनि छाडेपछि सोहीदिनदेखि सुनसान बनेको छ । यहाँबाट आधाघण्टा परको दार्चेडाँडामा सरेर बसेका चुडामणि न्यौपानेले सोही दिनको आधारातमा सामाजिक सञ्जालमा स्टाटसजारी गरे, ‘…मेरो घरको आँगनबाट झलमल्ल देखिने स्वर्ग जस्तो मेरो फुरुन्डाँडामा आज बत्ती बलेन । मेरो जन्मथलो आज अन्धकारको चपेटामा एक्लै रोई रहेको छ ।
… आफन्तहरुको खुब याद आयो । बरको फेदमा बसेर आज राती म साँच्चिकै खुब रोएँ । मुटु दुख्यो । मलाई कुनै रोशनीको आशाभन्दा पनि माई हिमलाले आफ्नो पाउमा फेरि कतै न कतैबाट उज्यालो बाल्छिन र काली नागको पुजारी कसैलाई पठाउँछिन भन्ने एउटा आशा मेरो मनमा मर्ने छैन … ।’
फुरुण्डाँडा मात्र होइन त्यो भन्दा आधाघण्टा पर रहेको रेग्मी र न्यौपानेहरुको बसोबास रहेको दार्चे पनि द्रूत गतिमा रित्तिँदै छ । १२० घरधुरी रहेको दार्चेबाट दुईबर्षअघि १३ घर बसाइँ सरेका थिए । गतबर्ष १२ घर र यसबर्ष पनि छ घर सरिसकेका, र अरु धेरै परिबार सर्ने तयारी गरिरहेका स्थानीय सुरज रेग्मी बताउँछन् ।
दार्चे गाउँ यस क्षेत्रकै सबैभन्दा धेरै घरबस्ती एकैठाउँमा झुरुप्प भएको गाउँ हो । सडक, विद्युत, खानेपानी, सिँचाइलगायतका यहाँ विकासका पूर्वाधार पनि पर्याप्त छ । तर बसाइँसराइ तिब्र भइरहेको भन्दै स्थानीयबासी चिन्ता व्यक्त गर्छन् ।
‘फुरुण्डाँडा रित्तियो, अब हाम्रो दार्चे पनि उजाड मरुभूमि बन्ने भएको छ’, उनी भन्छन्, ‘विशेषगरी यहाँका मान्छे वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुले बुढाबुढी मात्र घरमा छाडेर श्रीमती र छोराछोरीलाई बच्चा पढाउने बहानामा सहरमा डेरा लिएर राख्ने गर्छन् । अनि विस्तारै उतै सरेर जान्छन् ।’ यसरी घर खालि हुँदै जाँदा बाँदर, बाघ, भालु, स्यालको आतंक फैलिने र बाँकी बसेकाहरु पनि बसाईँ सर्ने गरेको उनको बुझाइ छ ।
बसाइँसराइका कारण यहाँको पिपला पोखरी आधारभूत विद्यालय पनि रित्तिँदै गएको छ । कक्षा आठसम्म सञ्चालन भइरहेको सो विद्यालयमा अहिले विद्यार्थी नभएकै कारण कक्षा पाँचसम्म मात्र सञ्चालनमा छ । ‘२०५१ सालमा म यहाँ नियुक्ति लिएर जागिर खान आउँदा एक कक्षामा ७१ जना विद्यार्थी थिए । तर आज सबै कक्षामा गरेर १७, १८ जना मात्र छन्’, विद्यालयकी प्रधानाध्यापक दुर्गा सिँखडा भन्छिन्, ‘हाजिरीकापीमा ३५ जनाको नाम छ तर विद्यार्थी छैनन् । त्यही १७, १८ जना पनि यहाँको एक जना पनि छैनन् ।
माथि खगीका दलित बस्तीबाट आएका हुन् ।’ दार्चेका सबैले सहरमा डेरा वा घर लिएर बालबालिका सहरतिरै पढाएका उनले बताइन् ।




