| बिहिबार, अशोज २१, २०८३

दशैँको टीकाको साईत बिहान ११:५१ मा, टिका थाप्ने ब्यक्ति पूर्व फर्कनु राम्रो

यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।

नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ। दशैँमा वातावरण नै उल्लासमय बन्छ।

विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।

प्रतिक्रिया दिनुहोस्