
एकीकरण नेपालद्वारा शिक्षकहरुका लागि साक्षरता सीप अभिवृद्धि आधारभूत तालिम
एकिकरण नेपालले जिल्लाका ५८ सामुदायिक विद्यालयका नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरुलाई साक्षरता सिप अभिवृद्धि आधारभूत तालिम प्रदान गरेको छ । ४ दिने साक्षरता सिप अभिवृद्धि आधारभूत तालिम आईतबार सम्पन्न भएको हो ।
तालिममा एकीकृत पाठ्यक्रम अनुसार कक्षा १ को सक्षमता हाँसिल गर्न बालबालिकाहरुमा पढ्ने सिप र बानीको विकासका लागि नयाँ शैक्षणिक रणनीतिको उपयोगको सिप प्रदान गरिएको एकीकरण नेपालका उज्वल वाग्लेले जानकारी दिए ।
तालिममा पढाइका भाषिक आठ तत्व, सिप शिक्षणका चरण, विद्यार्थी मूल्याङकन, शैक्षणिक सामग्री र प्रयोग, पठन सिप विकासको लागि स्थानिय शैक्षणिक सामग्री पहिचान र प्रयोग, वर्ण पत्ती, मात्रा पत्ती, शब्दपत्ती सामग्रीको प्रयोग अभ्यास, आधारभूत चरण पूर्व विसंकेतन, विसंकेतन, उत्तर विसंकेतन पाठहरुमा के के क्रियाकलाप तथा अभ्यास गर्ने, डिजिटल सामग्रीको प्रयोग साक्षरतायूक्त कक्षाकोठा, अनलाइन पुस्तकालय, कार्यक्रमको दिगोपना लगायतका विषयमा गहन छलफल भएको उनले बताए । साथै सबै सहभागीहरुले कक्षाकोठामा गएर शिक्षण गर्नुपर्ने क्रियाकलापहरुको नमूना अभ्यास समेत गराएको उनको भनाइ छ ।
गोरखामा विगत २ वर्ष देखि रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, एकीकरण नेपाल, गोरखा र स्थानीय सरकारको समन्वयमा १०० वटा सामुदायिक विद्यालयमा साक्षरता कार्यक्रय संचालन भइरहेकोमा छ । शैक्षिक सत्र २०८१ बाट स्थानीय सरकार, रुम टु रिड र एकिकरण नेपालको लागत साझेदारीमा थप ४५ ओटा बिद्यालयमा कार्यक्रम सुरु गरिएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।




