| मङ्लबार, अशोज १२, २०८३

दुई महिने लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन

गोरखामा आदिवासी जनजाति समुदायका लागि दुई महिने लोक सेवा पूर्व तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा आदिवासी जनजातिहरुको पहुँच विस्तार गर्ने तथा आदिवासी जनजाति समुदायका युवाहरुलाई स्वदेशमै रोजगारी पाउने अबस्था सिर्जना गर्ने उद्देश्यले लोकसेवा पूर्वतयारी कक्षा सञ्चालन गरिएको हो ।

राष्ट्रिय आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति गोरखा र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ गोरखाको संयुक्त आयोजनामा आजदेखि कक्षा सुरु भएको हो । पूर्व तयारी कक्षाको गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सो कक्षामा जिल्लाभित्र रहेका विभिन्न आदिबासी जनजातिका विद्यार्थीहरुको सहभागिता रहेको राष्ट्रिय आदिबासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु रानाले जानकारी दिए ।

जनजातिका छोराछोरीलाई सरकारी सेवामा बढी मात्रामा आवद्ध गराउने उद्देश्यले पूर्व तयारी कक्षा सञ्चालन गरिएको उनले बताए । ‘जनजातीका छोराछोरीहरु निजामती सेवाप्रति आकर्षित भएको देखिएन । सरकारी जागिर खानेप्रति उनीहरुको चासो निकै कम देखियो’, उनले भने, ‘त्यसैले पढ्न इच्छुक भएकाहरुलाई लोक सेवाको भोक जगाउन हामीले कक्षा सञ्चालन गरेका हौं ।’ पूर्वतयारी कक्षामा पुरुषको भन्दा महिलाको संख्या बढी रहेको छ ।

‘पहिलो दिन सहभागीहरु अलि कम भएका छन् । कम्तिमा पनि ६० जनालाई कक्षामा सहभागी गराउने भनेका छौं’ उनले भने । राष्ट्रिय आदिबासी जनजाति महासंघ गोरखाका अध्यक्ष विष्णु रानाको अध्यक्षता तथा मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष प्रेमध्वज थापा, महिला महासंघकी अध्यक्ष मिना गुरुङ, नेवा देय दवुका जिल्ला उपाध्यक्ष राम बाबु श्रेष्ठ, प्रशिक्षकद्वय विनोद गैरे र दिलिप अधिकारीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्