| बुधबार, अशोज १३, २०८३

द्रव्यशाह क्याम्पसको ३९ औँ वार्षिक उत्सव सम्पन्न, तीन सह–प्राध्यापक सम्मानित

गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ३९ औँ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम सम्पन्न भएको छ । समारोहको राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य किरणबाबु श्रेष्ठले दीप प्रज्वलन गरेर औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

मंगलबार आयोजित सो समारोहमा क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा क्यम्पसका विभिन्न विद्यार्थी संघ, संगठनका इकाइ प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए । विभिन्न सांस्कृतिक कार्यक्रम र खेलकुदको आयोजना गरी वार्षिक उत्सव मनाइएको हो ।

क्याम्पसको बार्षिक उत्सवकै अवसरमा क्याम्पसमा अध्यापन गराउने तीन सह–प्राध्यापकलाई सम्मान गरिएको छ । लामो समयदेखि क्याम्पसमा कार्यरत रही क्याम्पसको समग्र बिकासमा उल्लेखनीय भूमिका निर्वाह गर्दै पिएचडी र एमफिल गरेबापत उनीहरुलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ । सम्मानित हुनेमा बद्रीकुमार कार्की, कृष्ण पराजुली र जयराम अधिकारी रहेका छन् । उनीहरुमध्ये कार्कीले पिएचडी गरेका छन् भने, कृष्ण पराजुली र जयराम अधिकारीले एमफिल गरेका छन् । एमफिल गर्न सफल दुई जनालाई जनही एक लाख २५ हजार रुपैँया नगद र प्रशंसापत्रसहित सम्मान गरिएको हो भने पिएचडी गरेका डा. बद्रीकुमार कार्कीलाई नगद तीन लाख रुँपैया सहित प्रशंसापत्रले सम्मान गरिएको क्याम्पसका सहायक प्रमुख शरण श्रेष्ठले जानकारी दिए ।

क्याम्पसका सञ्चालन समितिका अध्यक्ष शितलकाजी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठ, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, उपप्रमुख मसलीमाया थोकर, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, क्याम्पस सञ्चालन समितिका पदाधिकारीहरु, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरु, स्वतन्त्र विद्ययार्थी युनियन लगायत प्राध्यापक, विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्