| बिहिबार, अशोज २१, २०८३

एसईईको नतिजा

एसईई अब प्रदेशबाटै

माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्थापन अब प्रदेश तहबाटै हुने भएको छ । यसअघिका एसईईको सम्पूर्ण व्यवस्थापन उच्च शिक्षा परीक्षा बोर्डले गर्दै आएको थियो । एसईई परीक्षा तयारीका लागि गत माघमा निर्देशन गरिएको थियो ।
व्यवस्थापन तयारीमा जुट्दाजुट्दै परीक्षा गराउने समय नभएको हुँदा गतवर्षको एसईईको व्यवस्थापन केन्द्रबाटै गरिएको थियो ।

परीक्षा नियन्त्रण कार्यालयले असोज २६ मा पुनः प्रदेश तहमा नै व्यवस्थापनका लागि पत्राचार गरेको थियो ।
सोहीअनुरूप गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय यसको तयारीमा जुटेको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रदेशलाई विभिन्न १४ प्रकारका काम गर्न अनुमति दिएको गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार गत माघको परिपत्रअनुसार गण्डकीमा काम गर्न थालिए पनि अधुरै रह्यो ।‘जिम्मेवारी नयाँ, समय थोरै’ उनले भने, ‘यसकारण गतवर्षको परीक्षा सञ्चालन गर्न सकेनौं । अब आउने एसईईको पूर्ण जिम्मेवारी हामी आफैं समाल्न सक्छौं ।’ यसका लागि विभिन्न चरणमा छलफल भइरहेको उनले बताए । उनले अन्य प्रदेशभन्दा गण्डकीमा विभिन्न चरणका छलफल अगाडि बढाइएको बताए ।

एसईईको व्यवस्थापनअन्तर्गत कक्षा नौमा रजिस्ट्रेसन, कक्षा १० को आवेदन, एसईई सञ्चालन, उत्तरपुस्तिका परीक्षण, त्यसका लागि आवश्यक विभिन्न फारामको व्यवस्थापन, फाराम इन्ट्री, यसै विषयमा जिल्लामा अभिमुखीकरण तालिम सञ्चालन, परीक्षा केन्द्र निर्धारण, सिम्बोल नम्बर कायम, प्रयोगात्मकको अंक इन्ट्री, परीक्षार्थीको अयोग्य विवरण तयारी, उत्तरपुस्तिका परीक्षणका लागि आवश्यक सामग्री व्यवस्थापनलगायतको काम प्रदेश तहबाटै हुने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्