| मङ्लबार, अशोज १९, २०८३

जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै क्याम्पस प्रमुखमाथि अखिलका विद्यार्थीद्वारा आक्रमण


अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण गरेको छ । जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै मंगलबार बिहान कार्यकक्षमै आएर आक्रमण गरेको क्याम्पस प्रमुख दुवाडीले जानकारी दिए ।


‘अखिलका अध्यक्ष विष्णु पाण्डे, गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिष अर्याल, जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाका स्वकीय सचिव राजन आले लगायत १४, १५ जनाको टोली आएका थिए’, उनले भने, ‘अनिषले सरले त्यसरी जनयुद्ध शव्दप्रति जथाभावी किन लेख्नुभएको भन्दै थियो । मैले आफ्नो कुरा राख्दै थिएँ । विष्णु पाण्डेले आएर आक्रमण गरिहाल्यो ।’ घटना स्थल वरपर रहेका क्याम्पसका अध्यापकहरु आएर आफूलाई बचाएको उनले बताए ।
घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द गरिएको छ ।


क्याम्पस प्रमुख दुवाडीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।
दोषी उपर किटानी जाहेरी दिने तयारी गरिरहेको दुवाडीले बताए ।


घटनापछि पब्लिक क्याम्पस प्राध्यापक संघ, क्याम्पसका कर्मचारी संघ र स्वतन्त्र विद्यार्थी युनियन द्रव्यशाह बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघ गोरखा, नेपाल विद्यार्थी संघ द्रव्यशाह क्याम्पस इकाइले अलग अलग विज्ञप्ति जारी गर्दै दोषीमाथि हदैसम्मको कानूनी कारबाहीको माग गरेको छ । अखिलका जिल्ला अध्यक्ष तथा मेयर र जिसस प्रमुखका स्वकीय सचिवहरुले क्याम्पससंग असम्बन्धित विषयमा क्याम्पस हाताभित्र प्रवेश गरी गरिएको आपराधिक गतिविधिप्रति विज्ञप्तिमा विरोध गरिएको छ ।

‘बा प्र ३ ०२ ०१४ ब ६७१३ नंबरको गोरखा नगरपालिकाको सरकारी मोटरसाइकल प्रयोग गरी क्याम्पससंग असम्बन्धित विषयमा, क्याम्पससंग असम्बन्धित व्यक्तिहरुले क्याम्पस प्रमुखमाथि हातपात र कार्यकक्ष तोडफोड गरिएको घटनाले क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी सबैको मनोबल गिराउने काम गरिएकोप्रति घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अराजक, आपराधिक, गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न माग गर्दछौँ । साथै यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कुनै राजनीतिक दलले संरक्षण गर्ने काम गरेमा विरोधका अन्य कार्यक्रमहरु गर्न बाध्य हुनेछौँ ।’


क्याम्पस प्रमुखले आफ्ना निजी सामाजिक सञ्जालमा निजी विचार प्रयोग गर्दा आक्रमण गर्नुले राज्यले नै प्रदान गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विज्ञप्तिमा भनिएको छ । साथै निजी विषयलाई लिएर शैक्षिक थलोमा आक्रमण गर्नु निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।


क्याम्पस प्रमुख दुवाडीले सोमबार संविधानले नचिनेको जनयुद्ध दिवसमा विदा गरिएकोप्रति असहमति राख्दै फेसबुकमा ‘कथित जनयुद्ध शव्दलाई वैधानिकता दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भनी स्टाटस लेखेका थिए । स्टाटस जारी भएलगत्तै अखिल क्रान्तिकारीका द्रव्यशाह बहुमुखी क्याम्पस इकाइ अध्यक्ष अनिष अर्यालले विज्ञप्ति जारी गर्दै क्षमा याचना गरी सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिएका थिए । अन्यथा अखिल क्रान्तिकारी क्याम्पस प्रमुख विरुद्ध आन्दोलन गर्ने र आन्दोलनबाट सिर्जित जस्तोसुकै परिस्थितिप्रति जवाफदेही रहन चेतावनी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्