
१५ बर्ष पर्खिएपछि सिँजाली माविले पायो चीन सरकारबाट चारतले विद्यालय भवन
१५ बर्षको लामो पर्खाइपछि गोरखाको सिँजाली माविले चीन सरकारबाट चारतले आधुनिक सुविधासम्पन्न भवन पाएको छ ।
चीन सरकारले २०६९ असारमा गरेको सम्झौताअनुसार सहिदलखन ४ ताक्लुङमा सुविधासम्पन्न चारतले विद्यालय भवन बनाइदिएको हो । चिनियाँ सरकारले २०८१ असारबाट सुरु गरेको सो विद्यालयको भवन निर्माण कार्य गत शुक्रबार सम्पन्न भएको व्यवस्थापन समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिए ।
तिब्बतसंग सीमाना जोडिएका १० वटा हिमाली जिल्लामा सुविधासम्पन्न विद्यालय भवन बनाउनेबारे तत्कालीन विदेशमन्त्रीको नेतृत्वमा नेपाल भ्रमणमा आएको उच्चस्तरीय चिनियाँ टोली र शिक्षा तथा मानवस्रोत विकास केन्द्र(शिक्षा विभाग) बीच २०६९ असार २३ गते सम्झौता भएको थियो ।
लामो समयको प्रतीक्षापछि चिनियाँ निर्माण कम्पनीले विद्यालय भवन निर्माण सम्पन्न भएकोबारे गाउँपालिकाका अध्यक्ष रमेश थापा, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खनाल तथा विद्यालय प्रशासनलाई औपचारिक जानकारी गराएको छ ।
२४ कोठाको चारतले विद्यालय भवन नाङथोङ नामक चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको हालैमात्र निवृत्त भएका प्रधानाध्यापक बलनारायण श्रेष्ठले जानकारी दिए । कम्पनीले कक्षाकोठा, पुस्तकालय, उपकरणसहितको विज्ञान प्रयोगशाला, प्रविधिजडित सभाहल तथा खेलमैदान निर्माण गरेको उनले बताए ।
भवन निर्माण सम्पन्न भए पनि उपयोग गर्न सुरु नभएको व्यवस्थापन समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिए । ‘सम्झौताअनुसार विद्यालय भवन निर्माण भइसकेको छ । अब शिक्षा मन्त्रालय, चिनियाँ दूतावासहरुले तिथिमिति जुराएर उद्घाटन गर्नेछन्’, खनालले भने, ‘त्यसपछि मात्र विद्यालयले त्यसको उपयोग गर्न पाउनेछ ।’ सुविधासम्पन्न विद्यालय भवन निर्माण भएसंगै भौतिक पूर्वाधारको समस्या समाधान भएको अध्यक्ष खनालले बताए ।
सो विद्यालयमा कक्षा १ देखि ३ सम्मको अलग्गै कार्यालय, ४ देखि ८ सम्मको छुट्टै कार्यालय र ९ र १० को छुट्टाछुट्टै कार्यालय पनि निर्माण गरिएको छ । बालबालिकाका लागि बालउद्यान र क्याण्टिन हल पनि निर्माण गरिएको छ । ‘चिनियाँ सरकारको सहयोगमा चार तले भवन बनेसंगै विद्यालय परिवारले खेपिरहेको भौतिक पूर्वाधारको अभाव टरेको छ’, उनले भने, ‘अब शैक्षिक गुणस्तरमा पक्कै पनि सुधार हुनेछ भन्ने विश्वास लिएका छौँ ।’




