| आइतवार, मंसिर ६, २०८३

बाढी साम्य हुन नपाउँदै चुमनुब्रीमा डढेलोको प्रकोप

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा अहिले फेरि डढेलोको विपद् सुरु भएको छ । बूढीगण्डकी र स्यार खोलाको विनाशकारी बाढीको समस्या साम्य हुन नपाउँदै चुमनुब्री ६ को जंगलमा डँडेलो फैलिएको स्थानीय सेराप गुरुङले जानकारी दिए ।

‘उङ्गिलुङ र स्यार खोलाको बाढीले निम्त्याएको समस्या समाधान गरिनसक्दै फेरि डँडेलो सुरु भयो’, उनले भने, ‘खास भन्ने हो भने वनमा बर्खाको पानी राम्ररी सुक्न पनि पाएको छैन, डँडेलो फैलिएको छ ।’ डढेलोले अनेक समस्या निम्तिने त्रास स्थानीयमा छ ।

डँडेलोले रुख, विरुवा, पशुपंक्षी विनाश हुने स्थानीयको भनाइ छ । ‘डढेलोले वातावरण प्रदुषण हुने त एउटा कुरा भयो, वनजंगल डढ्छ । जडिबुटी विनाश हुन्छ । पशुपंक्षी मर्छन्’, सेराप गुरुङ भन्छन्, ‘अहिले लोक्पा पारिको वनमा डढेलो लागेको छ । यो फैलिँदै धोर्जुङडाँडातिर पुग्यो भने त्यहाँबाट झरेको ढुंगा मनास्लु पदमार्गमा पुग्छ । त्यहाँ हिँड्ने देशी, विदेशी पर्यटक तथा स्थानीयलाई लाग्छ सक्ने जोखिम छ ।’

हावा हुरीले डढेलोलाई बस्तीसम्म पु¥याउन सक्ने जोखिम रहेको पनि उनको भनाइ छ । ‘हिमाली क्षेत्रमा धेरै हुरी बतास चल्छ । वनमा लागेको डढेलोबाट झिल्का तथा राँको बस्तीसम्म पुग्यो भने झन धेरै खतरा हुन्छ’, उनले भने । मनास्लु क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले सो पहिरो स्थानीय कसैले लगाएको भन्दै स्थानीयबासी नै सचेत हुनुपर्ने औल्याएको छ ।

वनमा डढेलो फैलिसकेपछि निभाउन असम्भव भएको भन्दै उनले डढेलो नलगाउन धेरै पटक गाउँमा सचेतनामुलक तालिम तथा अन्य कार्यक्रम गरे पनि स्थानीयले लापार्वाहीबश डढेलो लगाउन नछाडेको संरक्षण अधिकृत भुवन ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्