
प्रहरी कार्यालय गोरखामा सबैभन्दा धेरै बैकिङ्ग कसूरका मुद्वा दर्ता
गोरखामा साउनयता सबैभन्दा धेरै बैकिङ्ग कसूरका मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखामा साउनदेखि कात्तिक मसान्तभित्रमा दर्ता भएका मुद्धाहरु मध्ये सबैभन्दा धेरै बैकिङ्ग कसूर सम्बन्धी मुद्धा रहेका छन् ।
पत्रकार सम्मेल गर्दै कार्यालयले साउनयता कुल एकसय ७ वटा मुद्धा दर्ता भएको जनाएको छ । जसमध्ये बैकिङ्ग कसूर सम्बन्धी १९ वटा मुद्धा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक आकाश कँडेलले बताएका छन् । यस्तै, आत्महत्या सम्बन्धी १८ वटा मुद्धा दर्ता भएको उल्लेख छ ।
भवितव्य ज्यान सम्बन्धी १० वटा, बहुविवाह सम्बन्धी तीन वटा र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा १० वटा मुद्धा दर्ता भएका छन् । साउन यता जबरजस्ती करणी सम्बन्धी ५ र नागरिकता सम्बन्धी दुईवटा, बाल यौन दुरुपयोग सम्बन्धी एउटा, सवारी ज्यान सम्बन्धी तीनवटा र ज्यान मार्ने उद्योगमा एउटा मुद्दा दर्ता भएको छ ।
प्रहरी कार्यालयका अनुसार चारमहिने अवधिमा चोरीतर्फ ६ वटा, लागुऔषध, हातहतियार तथा खरखजना सम्बन्धी एउटा मुद्दा दर्ता भएका छन् । ठगीतर्फ १, हाम फालेर आत्महत्या ३ र लागु औषध सेवनतर्फ ३ वटा मुद्दा दर्ता भएका छन् । कात्तिक मसान्तसम्ममा दर्ता भएकामध्ये १ सय ७ वटा मुद्दामध्ये हालसम्म ३८ वटा मुद्धा फर्छौट भइसकेको कार्यालयको भनाई छ ।




