
गोरखामा एमालेबाट जितेका धार्चे ३ का वडाध्यक्ष नेकपा प्रवेश
गोरखामा एमालेबाट उम्मेदवार भई २०७९ को चुनावमा निर्वाचित वडाअध्यक्ष नेकपा प्रवेश गरेका छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट उम्मेदवार भई वडाध्यक्ष जितेका शेरबहादुर गुरूङ बिहिबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
धार्चे ३ खोर्लावेशीमा नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सहइञ्चार्ज हरिराज अधिकारी, गोरखा जिल्ला इञ्चार्ज अमर तमु, धार्चे कमिटीका अध्यक्ष विस्फोट तथा धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङ सहभागी एक कार्यक्रममा वडाअध्यक्ष गुरुङ नेकपा प्रवेश गरेका हुन् ।
गुरुङले २०७९ को स्थानीय निर्वाचनमा ३८७ मतसहित वडाअध्यक्षमा विजयी भएका थिए । धार्चे ३ मा तत्कालीन माओवादीका उम्मेदवारले भने ३७७ मत प्राप्त गरेका थिए । वडा सदस्यकोृ पदहरुमा भने माओवादीले नै जितेको उल्लेख छ ।
निर्वाचन आयोगको प्रावधान अनुसार वडाअध्यक्षले आफू निर्वाचित भएको पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गरेपछि कानुनी रूपमा उनको पद सुरक्षित रहँदैन ।
धार्चे ३ का वडाअध्यक्षले पार्टी परिवर्तन गरेपछि कानुनी प्रक्रिया अघि बढाउन एमाले गोरखाको भूमिका निर्णायक हुन्छ । एमाले गोरखाले वडाअध्यक्षले पार्टी परित्याग गरेको औपचारिक जानकारी निर्वाचन आयोगमा पठाएमा आयोगले पद रिक्त घोषणा गर्ने प्रक्रिया सुरु गर्नुपर्नेछ। पार्टी परिवर्तनलाई अपराध मानिँदैन, तर निर्वाचन प्रणालीले यसलाई पद गुम्ने आधारका रूपमा लिने भएकाले यदि एमालेले निर्वाचन कार्यालयमा पत्राचार गरेको खण्डमा उनको पद गुम्ने संवैधानिक प्रावधान छ ।




