
भीमसेन थापा २ का वडासदस्यमाथि नक्कली नोट कारोबारको आरोप
गोरखाका एक वडासदस्यमाथि नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोप लागेको छ । भिमसेनथापा गाउँपालिका वडा नं २ का वडासदस्य लक्ष्मण लामिछानेले नक्कली नोटको कारोबार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार वडासदस्य लामिछानेले यही कात्तिक २४ गते भिमसेनथापा–२ ताराखसेका नेत्रलाल लामिछानेलाई नक्कली नोट दिएका हुन् । लक्ष्मण लामिछानेले सापटी लिएको रकम फिर्ता गरेबापत नेत्रलाललाई ९ वटा हजारको नक्कली नोट दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक आकाश कँडेलले बताए ।
‘सापटी लगेको पैसा फिर्ता गर्ने क्रममा विभिन्न नंबरको रु हजारका ९ वटा नक्कली नोट दिएको रहेछ’, उनले भने, ‘पैसा लिएको भोलिपल्ट मात्र नोट नक्कली हो भन्ने खबर आएपछि हामी लक्ष्मण लामिछानेको घर खोजतसालमा गयौँ । त्यहाँ उनको कोठाबाट पनि रु हजारका चारवटा नक्कली नोटहरु फेला परे ।’
नक्कली नोटको कारोबार गरेका वडासदस्य लक्ष्मण लामिछाने भने हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाको भनाई छ । उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । लक्ष्मण लामिछानले यसअघि अनलाइन ठगीको आरोपमा रौतहटमा पक्राउ परेका थिए । अनलाइनमार्फत चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा उनी गत जेठमा पक्राउ परेका लामिछाने धरौटीमा रिहा भएका थिए ।




