| शनिबार, मंसिर ५, २०८३

पालुङटारमा स्थापित पूर्वाधार कार्यालयले दर्जनौँ सडक र पुलहरु बनाउने

तीन जिल्लामा काम गर्नेगरी हालसालै मात्र पालुङटार ५ ठाँटीपोखरीमा स्थापित पूर्वाधार विकास डिभिजन कार्यालयले गोरखामा दर्जनौँ सडक, मोटरेबल पुल तथा झोलुंगे पुल निर्माण गर्ने भएको छ । नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभाग माताहतमा रहेर गोरखा, लम्जुङ र मनाङमा काम गर्नेगरी स्थापित सो कार्यालयले चालु आर्थिक आर्थिक बर्षका लागि दर्जनौं योजनाहरु सञ्चालन गर्न लागेको हो ।

कार्यालय प्रमुख रामशरण आचार्यका अनुसार सो डिभिजनले गण्डकी गाउँपालिका ८ धवादी र धादिङको चरौँदी जोड्ने गरी त्रिशुलीमाथि दुईसय मिटर मोटरेबल पुल निर्माणको काम सुरु गर्दैछ । ‘डिजाइन एण्ड बिल्ड मोडलमा त्यहाँ पक्की पुल बनाउँदैछौँ’, आचार्यले भने, ‘टेण्डर प्रक्रिया समाप्त भइसकेको छ । अहिले निर्माण कम्पनीले डिजाइन गर्दैछ ।’ कन्ट्रयाक्टरले तयार गरेको डिजाइन नेपाल सरकारले स्वीकृत गरेपछि निर्माणको काम अघि बढ्ने उनले बताए ।

त्यस्तै कार्यालयले बारपाक सुलिकोट गाउँपालिकाको हुँडीखोलामा चार वटा मोटरेबल पुल निर्माण गर्दैछ । टेण्डर प्रक्रिया सकिएर निर्माणको काम पनि सुरु भइसकेको कार्यालयले जनाएको छ । त्यस्तै सो डिभिजन कार्यालयले अजिरकोट ४ र बारपाक सुलिकोट ४ जोड्ने गरी दरौँदीमा ५० मिटर पुल डिजाइन एण्ड बिल्ड मोडलमै निर्माण गर्दैछ ।

त्यस्तै सहिद लखन ६ बतासेदेखि सिम्ले, आमडाँडा, कौदी हुँदै रानिस्वाँरा, दलभञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग निर्माणको काम पनि सो कार्यालयले सञ्चालन गर्दैछ । अहिले पाँच करोड रुपैयाँ बराबरको काम हुने डिभिजनल प्रमुख आचार्यले जानकारी दिए । त्यस्तै लक्ष्मीबजार, तीनमाने, बतासे, फुजेल, दलभञ्ज्याङ, सिउरेनीटार सडक निर्माणको काम पनि चालु आर्थिक बर्षदेखि सुरु गर्दैछ । यसबर्ष २० करोड रुपैयाँ बराबरको काम हुने कार्यालयको भनाइ छ ।

त्यसैगरी भीमसेनथापा गाउँपालिकाको सिमलाफेद, कुसुण्डेचौर, कमलचौर सडक निर्माणका लागि तीन करोड रुपैयाँबराबरको कार्यक्रम पनि कार्यालयले सञ्चालन गर्दैछ । चुमनुब्री गाउँपालिका ३ नाग्चेतदेखि गाउँपालिकाको केन्द्र फिलिम जोड्ने सडक निर्माणको काम पनि सोही कार्यालयले सञ्चालन गर्दैछ भने त्यहाँ पुल निर्माणको सम्भाव्यता अध्ययनको काम पनि गर्ने डिभिजनल प्रमुख आचार्यले जानकारी दिए ।

गोरखामा यी र यस्तै धेरै कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्