| बुधबार, कार्तिक १८, २०८३

धार्चेका ४५० घरमा खाद्यान्न ठण्डाराम, किन्न जाने बाटो छैन

स्थानीय उत्पादनले नथेग्ने र बजारको बेसाहाको भरमा गुजारा चलाउन बाध्य धार्चे गाउँपालिका वडा नं. २ केरौंजा, केरौँजावेशी र लामावेशीका चार सयभन्दा धेरै घरमा यतिबेला खाद्यान्न रित्तिदै गएको छ । गत असोज २५ गतेको बूढीगण्डकीको बाढीले सबै पुल बगाएर नाकाबन्दीको अवस्थामा पुगेका स्थानीय ४५० घरधुरीमा अहिले खाद्यान्न ठण्डाराम भएको वडाअध्यक्ष सरोज गुरुङ बताउँछन् ।

‘बर्खामा भैपरी आउनसक्छ भनी जोगाड गरिराखेको दुईतीन बोरा चामल पनि सिद्धिन थालेको छ । कतिपय घरमा त रित्तिसक्यो’, गुरुङ भन्छन्, ‘माछाखोलाको पुल पनि बगायो । खोर्लावेशीको पुल पनि बगायो । नाकाबन्दी लागेको जस्तो भएको छ । अब जाउँ कहाँ ? जाने कसरी ?’ खाद्यान्न अभावले नजिकिँदै आएको तिहारमा भोकमरी हुनसक्ने उनको भनाइ छ ।

बाढीले क्षतिग्रस्त भएपछि उहियाको टावरले काम नगरेर ती गाउँहरुमा फोन पनि नचल्ने भन्दै उनले चौतर्फी समस्यामा परेको गुनासो गरे । ‘गाउँमा फोन चल्दैन । म अहिले यहाँ अन्तैको टावरले मोबाइल चल्ने डाँडामा आएर फोन गरिरा’छु’ उनले भने, ‘बूढीगण्डकीको बाढीपछि हामीले यति धेरै समस्या भोगका छौँ कि, हाम्रो समस्या कसैले पनि थाहा पाएका छैनन् ।’

बूढीगण्डकीको बाढी आएको एकसातासम्म सबैको ध्यानाकर्षण भएपनि अहिले कसैले पनि आफूहरुको दुखमा चासो नदिएको उनको चिन्ता छ । ‘त्यतिबेला त डोलीडारले अल्पकालीन रुपमा समस्या समाधान गर्न विद्युतबाट चल्ने तुइन बनाइदिन्छु भनेको थियो । झोलुङ्गे पुल पनि छिट्टै बनाउँछौँ भनेको थियो’ उनले भने, ‘तर अहिलेसम्म नापजोख गर्न पनि आएका छैनन् । जति दिन बित्दै जान थाल्यो, उति हाम्रो समस्या पनि ओझेलमा परेको छ ।’

बूढीगण्डकीको वारिपारि विजुलीको तार टाँगेर त्यसमै चामलको बोरा तारेर तत्कालको समस्या टार्ने प्रयास गरेपनि त्यसरी लामो समय नचल्ने उनको भनााइ छ । सरकारले केही दिन ड्रोनबाट खाद्यान्न गाउँमा पु¥याउने प्रयास पनि गरेको थियो तर त्यो पनि धेरै दिन टिकेन ।

अल्पकालीन समस्या टार्न सरकारले चामललगायतका खाद्यान्न पु¥याउने मेसो मिलाउनु पर्ने र दीर्घकालका लागि झोलुंगे पुल बनाएर खच्चडबाट ढुवानीको वातावरण मिलाइदिनु पर्ने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्