
पुल र बाटो बगाएपछि हिमाली भेगको स्याउ गोदाममै थन्कियो
प्रतीक्षा आले ।
बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको कुनैपनि विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे ।
गत असोस २५ गते चुमनुब्री गाउँपालिका ६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटिय क्षेत्रका दजर्नौ पुल तथा सडक बाटो बगाएको छ ।
जसका कारण आवतजावतमा समस्या भएको हो । बाढीले उत्तरी गोरखाको लाइफ लाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अबरुद्ध बनेको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो । गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थाई रुपमा सडक खुलाउने काम भैरहेको भएपनि स्याउ ढुवानी गर्न सक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुपले जानकारी दिए ।
‘गाउँपालिकाहरुले जसोतसो मान्छे हिँड्ने बाटोको व्यवस्था गरेको छ’, उनी भन्छन्, ‘खच्चड हिँडाउन गाह्रो छ । झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन ।’ लामाले चुमनुब्री गाउँपालिका ४ नाम्रुङस्थित २६५० मिटर उचाइमा स्याउ खेती गरेका छन् । इन गोरखा प्रोडक्ट प्रालि नामक उहाँको स्याउ फर्ममा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको छ ।
गाला, गोल्डेन डिलिसियस, रेड डेलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार पाँचसय बोटमा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको लामाको भनाई छ । ‘फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ । गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो । अहिले बिग्रन थालिसके’, उहाँले भन्नुभयो । यसवर्ष स्याउको उत्पादन राम्रो भएता पनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेर जाने अवस्था रहेको उनले गुनासो गरे ।
मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो । तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ । नाम्रुङ र आसपासका क्षेत्रहरुमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पु¥याउन करिब एकहप्ता लाग्छ । यसो गर्दा २० देखि २५ प्रतिशत स्याउ खेर जाने हुन्छ । साँघुरो बाटाहरुमा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेर जाने समस्या रहेको किसानहरु बताउँछन् ।
हेलीमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या हुन्छ मनास्लुका किसानहरुलार्ई । ‘आधा, आधि स्याउ खेर गएपनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो । बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन । हामीहरु साह्रै मर्कामा छौँ’, व्यवसायी लाक्पा डुन्डुपको भनाइ छ ।
सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउ लगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन् । बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसानहरु स्याउको सुकुटी र जाँडरक्सी बनाउनमा लागेका छन् । धेरै उत्पादन हुनेहरुको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउने बाहेक अरु उपाय छैन ।




