
गोरखा सिङ्गिङ आइडलको ग्राण्ड फिनाले कार्तिक १८ गते
गोरखा सिङ्गिङ आइडल सिजन १ को ग्राण्ड फिनाले कार्तिक १८ गते हुने भएको छ । गोरखा सदरमुकामस्थित गोरखकाली फिल्म हलमा हुने समारोहमा गोरखा सिङ्गिङ आइडलको पहिलो सिजनको विजेता घोषणा गरिनेछ । दारी ग्याङ गोरखाद्वारा आयोजित गोरखा सिङ्गिङ आइडलको पहिलो सिजनमा पाँच जना प्रतिस्पर्धीहरू फिनालेमा पुगेका छन्।
रक्तिम थापा मगर (गोरखा), सौगात गुरुङ (घ्याम्पेसाल), एलिसा पुलामी मगर (आरुघाट), प्रकाश सुनार (आरुघाट) र युसुफ अनसारी (गोरखा)ले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । आइडलको निर्णायक मण्डलमा राजु थापा, जिदान गुरुङ र समिर श्रेष्ठ रहेका छन् । जिल्लाभित्र रहेर पनि आफ्नो संगीतिक कलालाई दबाएर राखेका प्रतिभाहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले दारी ग्याङले गत साउन ३१ गतेदेखि प्रतियोगिता सुरु गरेको कार्यक्रम संयोजक समिर श्रेष्ठले जानकारी दिए ।
यो पहिलो सिजन भएकाले दर्शक तथा निर्णायकहरू दुवैले विशेष र प्रतिस्पर्धात्मक मानेको उनले भनाई छ । कार्तिक १८ गते हुने फिनालेमा प्राप्त भोटिङका आधारमा एकजना प्रतिस्पर्धीले गोरखा सिङ्गिङ आइडल सिजन १ को उपाधि चुम्नेछन् ।
विजेताले नगद ५० हजार रूपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने फस्र्ट रनरअपले ३० हजार र सेकेन्ड रनरअपले १५ हजार रूपैयाँको साथमा ट्रफी र प्रमाणपत्र पाउनेछन् । तेस्रो र चौथो रनरअपलाई गिफ्ट ह्याम्पर, मायाको चिनो र प्रमाणप्रत्र प्रदान गरिने आयोजक टिमले जनाएको छ ।
कार्यक्रम संयोजक श्रेष्ठका अनुसार टप २० का सबै प्रतिस्पर्धीलाई प्रमाणप्रत्र वितरण गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ४० हजार खर्च लाग्ने बताएको छ । यसबाट बचत भएको रकमले गोरखामा बढ्दै गएको दुव्र्यसनी रोक्न कार्यक्रम गरिने आयोजकले जनाएको छ ।




