| मङ्लबार, कार्तिक १०, २०८३

संसारी महेन्द्र माविको हीरक महोत्सव माघ ७ देखि १० गतेसम्म मनाइने

सिरानचोक गाउँपालिका–६, नयाँ साँघुमा अवस्थित संसारी महेन्द्र माध्यमिक विद्यालयले आउँदो माघ ७ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम गरी हीरक महोत्सव मनाउने भएको छ । विद्यालयको ऐतिहासिक गौरव, शैक्षिक योगदान र उपलब्धिको स्मरण गर्दै चारदिन महोत्सव आयोजना गर्न लागिएको हो ।

‘संसारी मावि हीरक महोत्सव–२)८३, हाम्रो गौरव, हाम्रो उत्सव, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवलाई ऐतिहासिक, स्मरणीय र उपलब्धिमूलक बनाउन विभिन्न तयारीका काम अघि बढाइएको विद्यालयले जनाएको छ । महोत्सवका अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावक बीच पुनर्मिलन, विद्यालयका लागि योगदान पु¥याउने दाता तथा प्रतिभाहरूको सम्मान, हीरक ग्रन्थ लोकार्पण र हीरक स्तम्भ अनावरणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।’

शैक्षिक, सामाजिक तथा खेलकुद गतिविधि, विद्यालय र समुदायका साथै राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति, पूर्वविद्यार्थीका प्रतिभा प्रस्तुति तथा हीरक संकल्प घोषणा महोत्सवका प्रमुख आकर्षण रहनेछन् । महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ३५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । महोत्सवसम्बन्धी निर्णय तथा कार्यसम्पादनलाई तीव्रता दिन १२ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ ।

सचिवालयका प्रत्येक सदस्यले एक–एक वटा उपसमितिको नेतृत्व गर्ने व्यवस्था मिलाइएको छ । महोत्सवको तयारीलाई प्रभावकारी बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । सो अवसरमा हीरक ग्रन्थ प्रकाशनसमेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्