
बुढीगण्डकी बाढी प्रभावितको अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापना गर्न नेकपाको माग
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी नदी थुनिएर आएको बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धार गर्न नेपाल सरकारसँग जोडदार माग गरेका हुन्। पार्टीले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीपीडित जनसमुदायको दुःख र पीडामा गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ।
विज्ञप्तिमा विस्थापित तथा प्रभावित परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न तथा दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणको स्पष्ट कार्ययोजना अघि बढाउन समेत आग्रह गरिएको छ।
भोटेकोशी–त्रिशूली बाढीका बेला खोज, उद्धार र राहत वितरणमा देखिएका समस्या र चुनौतीहरूबाट पाठ सिकेर विपद् व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र समन्वयपूर्ण बनाउनुपर्नेमा नेकपाको जोड छ।





