
बूढीगण्डकी बाढी : भौतिक संरचनामा अनपेक्षित क्षति, ५ जना सम्पर्कविहीन
रसुवा बाढीको पीडा भुल्न नपाउँदै बूढीगण्डकी नदीमा आएको बाढीले जिल्लामा वितण्डा मच्चाएको छ । आइतवार विहान लेदोसहित आएको बाढीले उत्तरी गोरखाका करिव एक सय घरमा क्षति पु¥याएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण ४५ घर पूर्ण रुपमा क्षति भएका छन् भने बाँकीमा आंशिक क्षति पुगेको छ । बाढीमा परेर उङ्गिलुङ भेडिगोठमा बस्ने पाँच जना सम्पर्कविहीन छन् । चुमनुव्री गाउँपालिका–६ चुम्चेतका ६५ बर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ बर्षीया लाक्पा थोर्मा लामा, ६६ बर्षीया सोम भुटी लामा, ६८ बर्षीय कर्मा लामा र ४१ बर्षीय तेन दोर्जे लामा सम्पर्कविहिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
६ वटा पुल बगायो, लोक्पाको क्यान्टीलिभर पुलमा पनि क्षति
बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ । गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बाढीले बगाएको हो । यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
बाढीले धार्चे गाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज समेत बगाएको छ । यसैगरी, माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र चुमनुब्रीकै घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल समेत बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् । वाढीले गाउँवस्तीको सम्पर्क नै टुटेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् । ‘माछिखोलाको पुल बगाउँदा केरौँजा, लामावेशी, रुन्चेत लगायत गाउँबस्ती जाने बाटो बन्द भयो’, उनले भने, ‘दशैँको मुखमा हामीलाई ठुलो बिपत्ती आइप¥र्यो ।’
चुमनुब्री–३ फिलिमकी कुमारी गुरुङले पनि जताततै पुल बगाउँदा दशैँमा घर जाने बाटो बन्द भएको बताइन् । ‘हामी त अब यहीँ थुनियौँ, तलबाट घर आउनेहरुको बाटो पनि बन्द भयो’, गुरुङले भनिन्, ‘यहाँ आउन हेली बाहेक अन्य उपाय छैन ।’
बाढीले चुमनुब्री–६ सिर्दिभीरको क्यान्टिलिभर पुल समेत बगाएको पालिकाको प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटको भनाई छ । सर्दिभीरको क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र साहारा हो ।
विद्यालय पनि बग्यो
बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभुत विद्यालयको भवन समेत बगाएको छ ।
तीन हाइड्रोमा क्षति
बाढीका कारण उत्तरी गोरखाको तीनवटा हाइड्रोपावरमा क्षति पुगेको छ । चुमनुब्री–३ सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । १८ जना कर्मचारीहरुले भने भागेर ज्यान जोगाएका छन् । सो कम्पनीका ९ वटा ब्लक र ६ वटा पब्लिक बिल्डिङहरू बगाएको छ प्रारम्भिक सूचना प्राप्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आयोजनामा कार्यरत १८ जना कर्मचारीहरूले भने स्थानीयबाट बाढी आउन लागेको सूचन पाएपछि भागेर ज्यान जोगाएका छन् । उनीहरू आफैं अग्लो र सुरक्षित स्थानमा गएका हुन् ।
यस्तै, धार्चे गाउँपालिका १ यारु र दोभानमा रहेको दुईवटा हाइड्रोपावरमा समेत बाढीले क्षति पु¥याएको छ । बाढीले सल्लेरीको हाइड्रोपावर बगाउँदा न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास, जगत, उहिया लगायतका गाउँबस्ती विद्युत विहीन बनेका छन् ।
करिव एक सय घरगोठ बगे
बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार गोठ बगाएको छ । यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ३१ घरधुरी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माको भनाई छ । शर्माका अनुसार धार्चे गाउँपालिकाको माछिखोला, यारुबगर र दोभानका करिब ५० घरधुरी र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरधुरीमा क्षति पुगेको हो । यस्तै, बाढीले उक्त क्षेत्रको ३४ वटा गोठमा क्षति पु¥याएको भनिएको छ ।
नाकावन्दीमा जगत गाँउ
बाढीका कारण उत्तरी गोरखाको जगत गाउँ नाकाबन्दीमा परेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाको फिलिम कार्यालय प्रमुख भुवनराज ओझाका अनुसार स्थानीय न त्यहाँबाट तल जान सक्छन् न माथि । जगतबाट माथि जानलाई सल्लेरीमा बाढीले सडक तथा पैलदमार्ग सबै कटान गरेको र तल बगरमा पनि बाटो कटान गरेर जान नमिल्ने भएको उनले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार जगतका २५ घर नाकाबन्दीमा परेका छन् । ‘जगत गाउँ नै नाकाबन्दीमा परेको छ। गाउँ तल कालेभिरको बाटो पूरै कटान छ। माथि सल्लेरी सबै बगाएको छ। जान–आउन नमिल्नेछ,’ उनले भने ।
हेलीमार्फत उद्धार
बूढीगण्डकी नदीमा आएको बाढीमा फसेकाहरुको हेलीमार्फत उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका ३ न्याकफेदीमा फसेका ९ जनालाई हेलीमार्फत उद्धार गरेर न्याक गाउँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । यस्तै, धार्चे गाउँपालिका १ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलीमार्फत उद्धार भएको थियो । यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत्त १८ जनालाई हेलीमार्फत हुल्चुक गाउँमा लगिएको हो । हेलीले मनास्लु क्षेत्रमा अलपत्र परेका ९ विदेशीसहित ८२ जनाको उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चारवटा हेलिकप्टर परिचालन भएको थियो ।
आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुख्खा पहिरो खसेको थियो । बिहान करिब चार बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पुर्वानुमान महाशाखाको भनाई छ । महाशाखाका अनुसार चुमनब्री–६ तुम्जेमा पहिरो जाँदा उङ्गेलिङ खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । भू–उपग्रहले लिएको तस्बिरका अनुसार शनिबार साँझ नै पहिरो गएको महाशाखाको भनाई छ
उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्रमा क्षति पुगेको हो । यस्तै, धार्चे गाउँपालिकाको दोभान, माछिखोला, यारुबगर र आरुघाट गाउँपालिकाको सोती र आरुघाट बजारमा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
बूढीगण्डकी बाढीका कारण चुम उपत्यका पुगेका पर्यटकहरु अलपत्र
बूढीगण्डकी नदीमा आएको बाढीका कारण उत्तरी गोरखाको चुमउपत्यकामा पर्यटकहरु अलपत्र परेका छन् । मनास्लु क्षेत्रअन्तरगत पर्ने चुम उपत्यकाको लोक्पा, चुम्लिङ र छेकम्पारमा ८७ जना विदेशी पर्यटकहरु अलपत्र परेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
आयोजनाका अनुसार मनास्लुको इन्ट्र पोइन्ट जगतमा भने ९८ जना विदेशी पर्यटक र ७३ जना गाइड तथा भरियाहरु अलपत्र अवस्थामा छन् । ‘जगतमा फसेकाहरु माथि भालुवन गएर बसेका छन्, लोक्पाका रहेका २० जना विदेशीमध्ये ३ जनाको हेलीमार्फत उद्धार भयो । अरु १७ जना त्यहीँ छन्’, एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले भने, ‘चुम्लिङमा २० जना र छेकम्पारमा ५० जना विदेशी पर्यटकहरु फसेका छन् ।’
आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोला थुन्निएर एक्कासी खोलिँदा बूढीगण्डकीमा बाढी आएको थियो । बाढीले चुमनुब्री–६ सिर्दिभीरको क्यान्टिलिभर पुल बगाएको पालिकाको प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटको भनाई छ । साथै, लोक्पाको झोलुङ्गे पुल समेत बगाएको उल्लेख छ । सर्दिभीरको क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र साहारा हो ।
क्यान्टिलिभर पुल र लोक्पाको झोलुङ्गे पुल बगाउँदा त्यस क्षेत्रमा पुगेका ८७ जना विदेशी पर्यटकहरु समस्यामा परेका हुन् । ‘लोक्पाका १७ जना पर्यटकहरु नदीको बहाव घटेपछि फिलिमसम्म आउनसक्ने अवस्था रहेपनि चुम्लिङ र छेकम्पारका पर्यटकहरुको भने हेली बाहेक अरु फर्कने विकल्प छैन’, एमक्यापका सूचना अधिकारी भुवन ओझाले भने ।
मनास्लु नुब्री उपत्यकामा भने बाढीको जोखिम नरहेको उनले जानकारी दिए । हाल नुब्री उपत्यकामा साँढे तीनसय जना पर्यटकहरु रहेको उनको भनाई छ ।




