| मङ्लबार, अशोज २६, २०८३

पर्यटन प्रवद्र्धनको माध्यम बनोस् पर्यटन मेला

सांस्कृतिक पहिचानसँगै आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा पर्यटनलाई लिने गरिन्छ । यद्यपि, पर्यटकीय सम्भावना प्रचुर हुँदाहुँदै पनि उचित प्रचारप्रसार, पूर्वाधार विकास र प्रभावकारी व्यवस्थापनको अभावमा जिल्लाका धेरै पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् । यस्तो अवस्थामा पर्यटन मेलाले पर्यटकीय सम्भावनाको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित हरमटारी क्लबले यही मंसिर १४ गतेबाट पर्यटन मेला गर्दैछ । पर्यटन मेला केवल मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र व्यापारिक गतिविधिमा सीमित हुनुहुँदैन । यसको मुख्य उद्देश्य स्थानीय पर्यटकीय गन्तव्यको पहिचान स्थापित गर्नु, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नु, स्थानीय उत्पादनको बजार विस्तार गर्नु र पर्यटनमा आधारित आर्थिक गतिविधिलाई चलायमान बनाउने हुनुपर्छ ।

मेला आयोजना गरेर केही दिन भीडभाड बढाउनु मात्र उपलब्धि होइन, त्यसबाट दीर्घकालीन पर्यटन विकासको आधार निर्माण गर्न सक्नु वास्तविक सफलता हो भन्ने कुरा बिर्सनु हुदैन । हुन त पछिल्लो समय मेलाप्रति सर्वसाधारणको दृष्टिकोण फरक छ । मेलाको जे जे उदेश्य राखेपनि मुख्य उदेश्य कमाउने र आयोजक मोटाउने भन्ने बुझाइ आम जनमासनमा छ ।

यो कुरालाई चिर्न नसक्दा पनि मेलाप्रतिको दृष्टिकोण सकारात्मक देखिदैन । बिगतमा जिल्लामा संचालन हुदै आएका मेलाका कारण पनि मेला महोत्सवहरु विवादमा मुछिने गरेका छन् । यो मेलाले पक्कै सकारात्मक सन्देश दिनेछ र पर्यटन प्रवद्र्धनको उदेश्य पूरा गर्ने छ भन्ने अपेक्षा गरौ ।

अन्ततः पर्यटन मेला पर्यटन प्रवद्र्धनको एउटा महत्वपूर्ण माध्यम हो, तर यसलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित गर्नुहुँदैन । स्थानीय सम्भावनाको पहिचान, पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार, निजी क्षेत्रको सहभागिता र स्थानीय समुदायको लाभ सुनिश्चित गर्न सके मात्रै मेलाको सार्थकता स्थापित हुन्छ । पर्यटन मेलाले पर्यटकीय गन्तव्यको पहिचान स्थापित गरोस्, स्थानीय अर्थतन्त्रलाई गतिशील बनाओस् र रोजगारीका अवसर सिर्जना गरोस् ।

प्रतिक्रिया दिनुहोस्