| बुधबार, अशोज २०, २०८३

जलवायु संकटको चपेटामा बिरेन्द्रताल

प्रतीक्षा आले ।
गत भदौ १० गते ल्हेन्देखोला, भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति ग¥र्यो । बाढीले विषेशगरी रसुवा र नुवाकोटका सातहजार भन्दाबढी घरहरु क्षतिग्रस्त बनायो । जसबाट ३२ हजार नौँसय ३३ जना नागरिक विस्थापित भएका राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

भोटेकोशीमा विनाशकारी बाढी आउनुमा जलवायु परिवर्तनको परिणाममा वैज्ञानिकहरु बीच मतैक्य भएको छ । विश्वव्यापी तापमान वृद्धिका कारण नेपाल–चीन सीमा क्षेत्रको नदीमा हिमपहिरो खसेको थियो । लाङटाङ लिरुङ हिमालबाट खसेको उक्त हिमपहिरोको लेदोले सीमा क्षेत्रको नदी थुनेर अस्थायी ताल बनाएको र करिब १८ घण्टापछि त्यो बाँध तथा माथिल्लो क्षेत्रको हिमताल समेत एकैसाथ विस्फोट हुँदा तल्लो तटीय क्षेत्रमा भीषण बाढी उर्लिएको अहिलेसम्मको निश्कर्ष छ ।

जलवायु परिवर्तनका कारण पर्यावरणमा आएको तीव्र असन्तुलनका कारण नेपालले ठुलो प्राकृतिक संकट भोग्नु परेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले जनाएको छ । इसिमोडले नेपाल–चीन सीमा क्षेत्रमा रहेका दुईहजार ७० वटा हिमलातहरुलाई जलवायु परिवर्तनको जोखिमका कारण ‘खतराको सूची’मा राखेको छ । इसिमोडले गोरखाको वीरेन्द्र ताललाई पनि ‘उच्च जोखिमयुक्त हिमताल’को सूचीमा राखेको छ ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लुको काखमा रहेको वीरेन्द्र तालको स्थानीय नाम ‘यम च्छो’ हो । २०३४ सालमा तत्कालीन राजा वीरेन्द्र सामागाउँ भ्रमणमा आउनु भएको थियो । त्यही समयदेखि यमच्छो’को नाम वीरेन्द्र ताल हुन गएको सामागाउँका स्थानीय वीरबहादुर लामाले बताउनुभयो ।

‘राजालाई मनास्लु बगेर जमेको यो ताल धेरै नै मन परेछ । यो कुरा स्थानीयहरुले पनि महसुस गरेपछि राजा बिदा हुने बेला गाउँलेहरुले हार्दिकताका साथ यमच्छोको नाम राजाको नामबाट राखिदिएछन्’, लामाले भन्नुभयो । समुन्द्री सतहबाट करिब ३ हजार ६ सय ९१ मिटर उचाइमा अवस्थित वीरेन्द्र ताल मनासलु पदयात्रामा आउनेहरुको रोजाइको गन्तव्य बनिरहेको छ । यद्यपि पछिल्लो केही वर्षयता वीरेन्द्र ताल र मनासलु हिमाल संकटमा परेको सामागाउँका पूर्ववडाअध्यक्ष समेत रहेका वीरबहादुर लामाले जानकारी दिनुभयो ।

जलवायु परिवर्तनका कारण मनासलु क्षेत्रको हिउँ निकै घटेको र वीरेन्द्र तालमा हिमपहिरो खस्ने दर बढ्दै गएको उहाँको भनाइ छ । ‘वीरेन्द्र ताल वरपरका ठुल्ठुला ग्लेसियरहरु फुटिसक्यो, बरफका पहाडहरुमा अहिले पत्थर मात्र बाँकी छन्’, उहाँले भन्नुभयो, ‘सामागाउँमा आजभोलि वर्षाको ढाँचा पनि फेरिएको छ । कहिले मुसलधारे पानी आउँछ, कहिले पानी नै पर्दैन् ।’
हिमाल आरोही स्थानीय नाङस्याल छोदेनले पनि वीरेन्द्र ताल र मनासलु हिमाल जलवायु संकटको चपेटामा परेकोमा दुख व्यक्त गर्नुभयो । यसवर्ष वीरेन्द्र तालमा पहिलाको तुलनामा धेरै पहिरोहरु खसेको उहाँले जानकारी दिनुभयो ।

‘वीरेन्द्र तालमा पहिला पनि स–साना पहिरोहरु त खसिरहन्थ्यो तर यो वर्ष अत्याधिक नै भएको छ । रातभर पहिरो खस्छ । त्यसको आवाजले हामी निदाउन सकेको छैनौँ’, उहाँले भन्नुभयो । सामागाउँमा गतवर्षहरुको तुलनामा यो वर्ष अत्याधिक पानी परेको छोदेनले बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘अहिले हामी मनासलु बेसक्यापमा छौँ । यहाँ पहिलाभन्दा एकदमै कम हिउँ छ ।’

हाल मनासलु क्षेत्रमा थप पाँचवटा नयाँ हिमतालहरु बनिसकेको र यो विषय चुनौतीपूर्ण रहेको सामागाउँका स्थानीय धावा नुर्बु लामाले बताउनुभयो । लामाका अनुसार सामागाउँ क्षेत्रको न्योचुथान क्षेत्रमा तीनवटा र पुङगेन क्षेत्रमा दुईवटा नयाँ हिमतालहरु बनेका छन् । उक्त तालहरु जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको उहाँले जानकारी दिनुभयो ।

‘यहाँको हिमतालहरु उच्च जोखिममा छन् । सम्बन्धित निकायले समयमै यसको निगरानी गरेर आवश्यक सर्तकता अपनाउनु पर्छ । नत्र भोलिका दिनमा ठूलो जनधनको क्षति हुनसक्छ’, लामाले भन्नुभयो । सामागाउँका धावा नुर्बु लामाले आगामि सेप्टेम्बर १८ देखि जलवायु परिवर्तनका प्रभाव तथा हिमताल जोखिम न्यूनिकरण सम्बन्धी विभिन्न मागहरुसहित आमरण अनसनमा बस्ने घोषणा गर्नुभएको छ । जलवायु परिवर्तनले विषेशगरी हिमाली क्षेत्रका नागरिकहरु अन्यायमा परेको भन्दै लामाले मनासलु बेसक्यापमा आमरण अनसन बस्ने घोषणा गर्नुभएको हो ।

२०८१ बैशाखमा मनासलु हिमालबाट विशाल हिमपहिरो खसेको थियो । जसका कारण वीरेन्द्र तालको पानी बाँध नाघेर बाहिरिएको थियो र बूढीगण्डकी नदीमा आकस्मिक बाढी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्