| बुधबार, अशोज २०, २०८३

कांग्रेस केन्द्रीय समितिमा गोरखाबाट उपसभापतिसहित १८ जनाको उम्मेद्वारी

नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न गोरखाबाट उपसभापति र सहमहामन्त्रीसहित १८ जनाको उम्मेद्वारी परेको छ । जारी महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची थियो ।

कांग्रेस जिल्ला सचिव किशोरजंग थापाका अनुसार खुल्ला उपसभापतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेले उम्मेद्वारी दर्ता गरेका छन् । मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा अव्दुल सतारले मनोनयन दर्ता गरेका थापाले जानकारी दिए ।

खुल्ला सदस्यतर्फ दीपकबाबु कँडेलले मनोनयन दर्ता गरेका छन् भने खसआर्य क्लस्टरबाट मोहन प्रकाश पोखरेल र प्रेमकुमार खत्रीले उम्मेद्वारी दर्ता गरेका छन् ।

गण्डकी प्रदेश खुल्ला क्लस्टरबाट ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र रविकला खनालले मनोनयन दर्ता गरेका छन् भने महिला खुल्ला क्लस्टरबाट शोभा अधिकार र कमला लामिछानेले, खसआर्य महिलाबाट जानुका पन्तले उम्मेद्वारी दिएकी छिन् । जनजाति महिला क्लस्टरबाट मनकुमारी गुरुङले उम्मेद्वारी दर्ता गरेकी छिन् भने दलित क्लस्टरबाट दिनेश सुनार, ईश्वर परियार र रामु नेपालीले मनोनयन दर्ता गरेका छन् ।

मुस्लिम क्लस्टरबाट सलाउद्दिन मियाँ र रहमतुल्ला मियाँले उम्मेद्वारी दिएका छन् भने द्वन्द्वा पीडित क्लस्टरबाट जनार्दन अर्यालले मनोनयन दर्ता गरेका जिल्ला सचिव थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्