| बुधबार, अशोज १३, २०८३

गोनपाद्वारा बजार अनुगमन, म्याद नाघेका र सडेगलेका सामान बरामद

आधाजसो पसलहरु दर्ता छैनन्, दर्ता भएका पनि नवीकरण छैनन
दशैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिएसंगै गोरखा नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । असोज मसान्तसम्म जारी रहने गरी असोज लागेदेखि बजार अनुगमन गरिएको प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाईँले जानकारी दिए ।
अनुगमनका क्रममा धेरै पसलहरुमा सडेगलेका सामान राखिएको फेला परेको अम्गाईले जानकारी दिए ।

‘धेरै पसलहरुमा सडेगलेका, म्याद नाघेका सामान फेला पारेका छौँ’, उनले भने, ‘त्यस्ता सामान हामीले बरामद गरेका छौँ । कतिपय पसलेहरुलाई नै नष्ट गर्न लगाएका छौँ ।’ मंगलबार छेपेटारमा गरिएको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका घ्यू बेच्न राखिएको अवस्थामा फेला पारेको उनले बताए ।

‘छेपेटारको नारायण पाउरोटी भण्डारमा म्याद नाघेका १७ ड्रम घ्यू बरामद गरेका छौँ’, उनले भने, ‘छेपेटारकै राजेन्द्रको जस्ता पसलबाट म्याद नाघेका १६ लिटर पेण्ट पनि बरामद गरेका छौँ ।’ यस्ता म्याद नाघेका र सडेगलेका धेरै सामान बरामद र नष्ट गरेको उनको भनाइ छ । त्यस्तै अनुगमनका क्रममा गोरखा नगरपालिकामा दर्ता गरेर भन्दा दर्ता नगरी सञ्चालन गरेको भेटिएको अम्गाईँले बताए ।

‘हामीले अनुगमन गरेका पसलहरुमा विधिवत रुपमा दर्ता गरी राजस्व तिरेर चलाएकाभन्दा नगरेका धेरै पायौँ । अझै दर्ता गरेका पसलहरु पनि नविकरण नगरेका धेरै रहेका भेटिए’, उनले भने । अहिलेसम्म गोरखा बजार, बतासे, हिलेपोखरी, आहाले, कोखे आहाले, श्यामबजार, छेपेटार बजारको अनुगमन गरिसकिएको छ । अरु निरन्तर अनुगमन गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

गोरखा नगरपालिकाको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, प्रहरी, एकीकृत सेवा कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श लगायतका निकाय सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्