
बाली खाएर हैरान पार्ने भालुले मान्छेको ज्यान बचायो
आँखा झिमिक्क पा¥यो कि, भालुले बारीको मकै स्वाहा पार्ने । त्यसैले अचेल धेरैले बारी बाँझै राखेका छन् । जति उपाय लगाए पनि बाली जोगाउन नसकेपछि हिमाली भेगका कैयौँ गाउँले सहर पसे, केही भने विदेश पलायन भए ।
चुमनुब्री ४ नाम्रुङकी लाक्पा भुटी र बहिनी ओर्केन छ्योदेन हरेक दिन गाउँभन्दा पारि तालाको मकैबारीमा भालु रुङ्दै बस्छन् ।
लाक्पाका श्रीमान विगत आठबर्षदेखि अमेरिकामा छन्, आर्केनका श्रीमान फ्रान्स । उनीहरु भने श्रीमानको कमाइमा मात्र रमाउँदैनन्, पुख्र्यौली जायजेथामा आपूmहरु पनि मिहिनेत गर्छन् ।
गतसाता आइतबारको कुरा हो, बिहान तीन बजेतिर, बूढीगण्डकी पारि नाम्रुङको थेराङ खोला ठूलो स्वरमा गड्गडायो । अजङ्गको बूढीगण्डकीलाई माथ गर्नेगरी थेराङ गड्गडाएको सुनेपछि दिदीबहिनी निद्राबाट ब्युँझिए । झल्याँस्स भोटेकोशी, त्रिशुलीलाई माथ गर्ने ल्हेन्देको बाढी सम्झिए ।
लाक्पा भुटीले ओर्केन छ्योदेनलाई उठाइन् । ओर्केनले तीनबर्षको काखे बच्चालाई ब्युँझाइन् । मोबाइल बाल्दैबाल्दै उनीहरु राती नै नाम्रुङ आइपुगे । त्यहाँ आइपुग्दा न उनीहरुको घर थियो, न घरभित्रका सरसामान । आफू बस्ने घर नामेट पारेर थेराङ गड्गडाइरहेको थियो । घरतिर जाउँ भने पुल पनि थिएन ।
त्यसपछि पो उनीहरुलाई लाग्यो, भालुले गर्दा ज्यान बच्यो । ‘अहो, हामी घरमै सुतेको भए, हाम्रो लास पनि नभेट्टाउने’, लाक्पा भुटी भन्छिन्, ‘यसरी उर्लिएर आएको बाढीले घर बढारेको बेला हामी घरमै सुतेको भए आज कहाँ बच्थ्यौँ र ? थेराङले एक हल्को हुत्याएपछि बूढीगण्डकीमै पु¥याउँथ्यो । बूढीगण्डकीमा पु¥याएपछि त लास पनि भेटिन्न ।’ त्यतिबेला लाक्पा भुटीकी १९ बर्षकी छोरी स्यालाको स्कूलमा सेवा गर्न गएकी थिइन् । बाढीले घर बगाएको खबर थाहा पाएपछि बिहान मात्र उनी नाम्रुङ आइपुगिन् ।
स्याला स्कूलमा पढेपछि एकबर्ष स्कूललाई सेवा गर्नुपर्ने नियम छ । ‘छोरी स्याला स्कूलमा थिई र बची । हामी भालु रुङ्न बारीमा बसेका थियौँ र बच्यौँ’, लाक्पा भुटी भन्छिन्, ‘सँधै हैरान पार्ने भालुलाई धन्यवाद छ ।’ सँधै लखेट्ने भालुले आफूहरुको ज्यान बचाएकोमा उनले खुशी व्यक्त गरिन् ।
आइतबार दिउसो चारबजेतिर मात्र उनी आफ्नो घर भएकोतिर जान सकिन् । ‘गाउँका केटाहरु र प्रहरी मिलेर काठको फड्के बनाए । अनि कम्मरमा डोरी बाँधेर हामी फड्के तरेर घर भएको ठाउँमा पुग्यौँ’, घर त के छ र, बगर बनेको छ ।’ अहिले दिदी–बहिनी गाउँको एक सामुदायिक भवनमा बास बस्दै आएको उनी बताउँछिन् ।
थेराङ खोलामा बाढी आउँदा नुर्बु ओङ्ग्यालमात्र घरभित्र थिए । ‘चार दिनदेखि मलाई राती राम्रो निद्रा पर्न छोडेको थियो । त्यो रात पनि म मोबाइल खेलाएर सुतिरहेको थिएँ’, नुर्बु भन्छन्, ‘राती भएपछि वाइफाई पनि चल्दैनथ्यो । डाउनलोड गरेर राखेको फिलिम हेरेर सुतिरहेको थिएँ । एक्कासी बम पड्केजस्तो आवाज आयो । भुइँचालो आएजस्तो गरी घर हल्लायो । अनि म ज¥याकजुरुक उठेँ । बाहिर निस्केर हेरेँ । आँगनसम्म पानी आइसकेको रहेछ । घर माथिको काठे पुल बगाइसकेको पनि देखेँ । अनि हत्तपत्त मोबाइल र एउटा टर्च लाइट लिएर म भागेँ । म भागेको एक मिनेट पनि नबित्दै फलामे पुल पनि लग्यो, मेरो घर पनि लग्यो । धन्न एक मिनेटले बाँचे ।’
आफ्नो पसल घरको सबै सामान बगाएकाले राहतमा पाएको खाद्यान्नले छाक टारिरहेको उनको भनाइ छ ।अहिले पीडितहरु सामुदायिक भवनमा र आफन्तको घरमा शरण लिएर बास बसिरहेका छन् ।




