
महिलाहरु विकासका संवाहक पनि
गाउँलेहरू अस्थायी तथा स्थायी रूपमा सहर वा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहँदा हाम्रा गाउँघर युवाविहीन बन्दै गएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा युवा शक्ति बाहिरिएपछि गाउँमा मुख्यगरी महिला, बालबालिका र वृद्धवृद्धाहरू मात्र बाँकी रहने स्थिति बनेको छ । तर, यही चुनौतीका बीच गाउँको जीवन र विकासलाई निरन्तरता दिने मुख्य खम्बाका रूपमा महिलाहरू अगाडि आएका छन् । विशेष गरी आमा समूहहरूले देखाएको अभूतपूर्व सामाजिक सक्रियताले ग्रामीण नेपालको रूपरङ्ग फेर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
परम्परागत रूपमा महिलाहरूको दायरा घरदैलो, भान्सा र मेलापातमा मात्र सीमित थियो । आज त्यो परिवेश बदलिएको छ । पुरुषहरूको अनुपस्थितिमा गाउँका महिलाहरूले घरायसी जिम्मेवारी मात्र सम्हालेका छैनन्, गाउँको विकास निर्माण र सामाजिक नेतृत्वको बागडोर पनि आफ्नो हातमा लिएका छन् । आमा समूह तथा महिला समूहमार्फत सङ्गठित भई उनीहरू गाउँको सरसफाइ, खानेपानी योजनाको निर्माण तथा मर्मत–सम्भार, बाटोघाटो निर्माण जस्ता विकास निर्माणका काममा प्रत्यक्ष रूपमा सरिक भइरहेका छन् ।
आमा समूहहरूको सक्रियता केवल विकास निर्माणमा मात्र सीमित छैन । बचत तथा ऋण समूह सञ्चालन गरेर उनीहरूले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन ठूलो मद्दत पु¥याएका छन् । सानातिना आर्थिक गर्जो टार्न सहर वा साहुमाथि निर्भर हुनुपर्ने बाध्यतालाई यी समूहहरूले अन्त गरिदिएका छन् । यसका साथै गाउँमा हुने बालविवाह, घरेलु हिंसा, मदिरा नियन्त्रण जस्ता विकृति र विसंगतिविरुद्ध आमा समूहहरूले बुलन्द आवाज उठाउँदै आएका छन् । धार्मिक, सांस्कृतिक तथा चेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर उनीहरूले समाजलाई एकढिक्का बनाउने कामसमेत गरेका छन् ।
वैदेशिक रोजगारी र बसाइँसराइले सिर्जना गरेको सुन्यतालाई आमा समूहहरूले आफ्नो श्रम, नेतृत्व र प्रतिबद्धताद्वारा आशामा बदलेका छन् । तसर्थ, आमा समूहहरू आज केवल एउटा सामाजिक संस्था मात्र रहेनन्, उनीहरू ग्रामीण रूपान्तरणका संवाहक बनेका छन् ।




